जन्मदर्ता प्रमाणपत्र बनाइदिएको दुई लाख घुस लिने वडासचिव पक्राउ

जन्मदर्ता प्रमाणपत्र बनाइदिएको दुई लाख घुस लिने वडासचिव पक्राउ


जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख घुस लिने वडासचिव पक्राउ परेका छन् । सप्तरीको राजविराजस्थित तैतरीगाछीबाट सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले मंगलबार साँझ वडासचिवलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सप्तरीको महदेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्रलाई सेवाग्राहीबाट रु. दुई लाख घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद ढकालले बताए ।

उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले राजविराजस्थित तैतरीगाछीको एउटा चियापसलमा जन्मदर्ता प्रमाणपत्रसम्बन्धी कागजात बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा वडासचिव मिश्रलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी ल्याई आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको सूचना अधिकारी ढकालले बताए ।
रासस