माधव नेपाल सकसमा !

माधव नेपाल सकसमा !


कुनै समय नेकपा एमालेका एकछत्र नेता बन्नुभएका माधवकुमार नेपाल केपी ओलीको समय शुरु भएपछि क्रमशः सकसपूर्ण अवस्थाबाट गुज्रँदै आउनुभएको छ । यसबीचमा उहाँलाई सच्चा मनले सहयोग गर्ने हितैषीहरू मिलिरहेको छैन र, कुनै समय उहाँका वरिपरि झुम्मिइरहनेहरूसमेत अचेल उहाँबाट टाढिएका छन् ।

केपी ओलीसँग असन्तुष्ट रहेकाहरूको रोजाइ माधव नेपालभन्दा प्रचण्ड हुन थालेको र पछिल्लो समयमा प्रचण्ड र केपीबीच ‘लेनदेन व्यवहार’ राम्रो चलेकोले पनि माधव ओझेलमा पर्नुभएको ठानिन्छ । ईश्वर पोखरेल र विष्णु पौडेलहरू आफूभन्दा प्रचण्डसँग निकट रहेको महसूस माधवले गर्नुभएको छ भने वामदेव गौतमलाई समेत प्रचण्डले पट्याएपछि नेता नेपाल पार्टीमा निरीह बन्नुभएको छ ।

योगेश भट्टराई र घनश्याम भुसाल केपीको मन्त्रिमण्डलमा सामेल भएपछि सुरेन्द्र पाण्डे, भीम रावल, गोकर्ण विष्ट र लालबाबु पण्डित मात्र माधवको भागमा पर्ने स्थिति बनेको छ । तर, उहाँहरू पनि यतिबेला माधवलाई काँध दिएर एकैसाथ केपी र प्रचण्डलाई चिढ्याउने अवस्थामा नभएको देखिन्छ । त्यसैले केपी ओली राजनीतिमा सक्रिय रहँदासम्म माधव नेपाल ओझेलको ओझेलमै रहनुपर्ने स्थिति देखापरेको छ । केपी सत्ताबाट बाहिरिएको अवस्थामा पनि प्रचण्डसँग भिड्ने सामथ्र्य बनाउन माधवले कसरी सक्नुहोला भन्ने प्रश्न खडा हुन्छ ।

केपीबाहेक अरू कुनै नेताले प्रचण्डलाई काबुमा राख्न सक्ने विश्वास गरिँदैन । नारायणकाजी श्रेष्ठ, भीम रावल, सुरेन्द्र पाण्डे, ईश्वर पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराईदेखि विष्णु पौडेलसम्मलाई आफूसँग राख्न सकेको अवस्थामा मात्र प्रचण्डलाई साइजमा राख्न माधव नेपाल समक्ष हुनुहुने देखिएको छ । तर, त्यस्तो अवस्था बनाउन भने माधव नेपालले ठूलै मिहिनेत गर्नुपर्ने अवस्था छ ।