घुस्याहा सीडीओप्रति सचिवको प्रेम !

घुस्याहा सीडीओप्रति सचिवको प्रेम !


माथिका मान्छेले माया गरेपछि भ्रष्टाचार गरेको प्रमाणित नै भए पनि कारबाहीको दायरामा नपर्ने उदाहरण गृहसचिव प्रेम राईले प्रस्तुत गरिदिएका छन् । अख्तियारको ‘हाकिम’ बन्न खुट्टा उचालेर बसेका प्रेम राई आफैँचाहिँ साम्प्रदायिक भए पनि आर्थिक मामिलामा स्वच्छ मानिन्छन् । तर, सेवाग्राहीसँग घुस खाने र सरकारी कर्मचारीलाई अपहरण शैलीमा बन्धक बनाएर रकम असुल्ने दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कानुनी कारबाहीमा पर्नबाट जोगाउन सचिव राईले गरेको प्रयासले सबैलाई आश्चर्यचकित तुल्यायो ।

दोलखाको मेलुङका कुमार लामा, कालिञ्चोकका उदिम तामाङ र इन्द्र पाख्रिनलगायतका व्यक्तिहरूसँग मुद्दा मिलाइदिने नाममा सीडीओ रिजालले घुस असुलेको पुष्टि भइसकेको छ । लामाबगर स्वास्थ्य चौकीका अहेव रामनरेश यादव र बिगु गाउँपालिका–१ का कार्यालय सहयोगी राजु श्रेष्ठहरूलाई आफ्नै कार्यालयमा अपहरण शैलीमा बन्धक बनाई रिजालले रकम असुलेको पनि प्रमाणित भइसकेको छ । रिजालको अपराध एकपछि अर्को गर्दै बाहिर आउन थालेपछि सचिव प्रेम राईले उनलाई बचाउने प्रयास गरेका थिए ।

रामनरेश यादवले गृह मन्त्रालयमा रिजालमाथि कारबाहीको माग राखी मङ्सिर २१ गते दिएको निवेदनमा कारबाही गर्नेबारे प्रेम राईले कुनै चासो दर्शाएका थिएनन् । बरु कारबाहीको माग गर्नेहरूलाई उनले ‘अब कुनै कारबाही हुँदैन, प्रमाणित नभएपछि केको कारबाही गर्नु’ भन्ने ठाडो जवाफ दिने गरेका थिए ।

प्रजिअ खगेन्द्रप्रसाद रिजालमाथि सेवाग्राहीबाट घुस लिई भ्रष्टाचार गरेको र अपहरण शैलीमा बन्धक बनाई रकम असुल गरेकोजस्तो दुई अलग–अलग मुद्दा लगाएर कानूनी कारबाहीको दायरामा ल्याउने अवस्था हुँदाहुँदै पनि प्रेम राई घुस्याहा कर्मचारीको पक्षमा किन उभिएका थिए, खोजीको विषय बनेको छ । कतिपयले रिजाल र प्रेम राई पहिले अख्तियारमा सँगै काम गरेका हुनाले रिजालको बचाउमा लागेको अनुमान गरेका छन् भने कतिपयले चाहिँ राई र रिजाल एउटै ‘पार्टी’का भएकोले कारबाही गर्न नचाहेको हुन सक्ने ठानेका छन् । रिजाललाई जुनसुकै कारणले संरक्षण दिइएको भए पनि अख्तियारको पत्रपछि रिजाललाई निलम्बन गरिएको छ । अख्तियारले निजमाथि छानविन प्रक्रिया अघि बढाएको छ । ज्ञातव्य छ, रिजाल यसअघि अख्तियारको सहप्रवक्ता थिए ।