बलात्कार के हो, के होइन ? – २

बलात्कार के हो, के होइन ? – २


■ बबिता बस्नेत

महाभारतमा विद्वानहरूले भरिएको राजसभामा द्रौपदीको वस्त्रहरण प्रयास यौन हिंसाको डरलाग्दो रूप थियो । महाराजा धृतराष्ट्र, भीष्म पितामह, कुलगुरु द्रोणाचार्य, कृपाचार्यजस्ता महापुरुषका अगाडि दुर्योधन, दुस्सासनलगायत कौरवहरूले द्रौपदीमाथि सार्वजनिक स्थानमा यौन हिंसा गरे । बलात्कार गर्ने उनीहरूको उद्देश्य थियो–थिएन भन्न सकिन्न, तर उनीहरू सबैका अगाडि द्रौपदीलाई निर्वस्त्र गरी बेइज्जत गर्न चाहन्थे । धृतराष्ट्र र गान्धारीका सय पुत्रमध्येका एक विकर्णले मात्र सो कार्यको विरोध गरे । कौरव भए पनि उनले एउटी नारीमाथिको अपमान र बेइज्जती अधर्म हो भने । धर्मको अर्थ न्याय हो । विकर्णलाई मृत्युपर्यन्त पनि उच्च सम्मानका आँखाले हेरियो । त्यतिबेला मौन रहने भीष्म पितामहहरूले उक्त प्रसङ्गमा सधैँ शिर निहुऱ्याउनुपऱ्यो । यसको अर्थ हो यौन हिंसा र बलात्कारजस्ता कार्य गर्ने मात्र होइन, थाहा पाएर पनि चुपचाप बस्ने या प्रतिकार नगर्ने मानिसलाई त्यतिबेला पनि राम्रो मानिँदैनथ्यो ।

विद्रोही स्वभावकी द्रौपदीले पटकपटक यौन हिंसाको सामना गर्नुपऱ्यो । पाण्डवहरू बनवासमा रहँदा जङ्गलमा पानी लिएर फर्कंदै गरेकी द्रौपदीलाई दुर्योधनकी बहिनीका पतिले बाटोमा हातपात गर्न खोजे । बलात्कारबाट बच्नका लागि उनले निकै सङ्घर्ष गर्नुपऱ्यो । अहिले पनि धेरैजसो यौन हिंसा र बलात्कार आफन्तबाटै हुन्छ भन्ने अध्ययनहरूले देखाएका छन । गुप्तवासमा रहेका बेला मत्स्य देशका राजा विराटको दरबारमा पाण्डवहरू विभिन्न सहयोगी भूमिकामा थिए । द्रौपदी विराट राजाकी पत्नीको सौन्दर्यकर्मीको भूमिकामा थिइन्, उनको नाम सैरन्धरी राखिएको थियो । सैरन्धरीलाई पटकपटक यौनको आँखाले हेर्दै आएका विराट देशका सुरक्षा प्रमुख किचकले एक दिन बलात्कारको प्रयास गरे । पाण्डवहरू उनको चिच्याहट थाहा पाएर पनि थाहा पाउन मिल्ने अवस्थामा थिएनन् । उनीहरू पाण्डव हुन् भनेर चिनिए भने फेरि बनवासदेखिको सजाय भोग्नुपथ्र्यो । त्यस्तो प्रतिकूल अवस्थामा पनि भीमले उनलाई बचाए । किचकको मृत्यु भीमकै हातबाट भयो । सुसारे, घरमा कामका लागि राखिएका सहयोगीहरू त्यतिबेलैदेखि सुरक्षित थिएनन । घरेलु कामदारहरू अहिले पनि सुरक्षित छैनन् ।

बलात्कार गरेर पुरुषको इज्जत बढेको इतिहास छैन । यौन हिंसा र बलात्कार महिलाको इज्जतसँग होइन पुरुषको मर्यादासँग जोडिएको विषय हो । यौन हिंसा गर्ने पुरुषको कुनै मान, मर्यादा, सम्मान हुँदैन भन्ने अनेकौँ उदाहरणहरू छन् ।

रामायणमा रावणले सीता हरण गरे, तर सुरक्षित राखे । कुनै पनि प्रकारको यौन हिंसा गरेनन् । यो मामिलामा रावणको मान, सम्मान र इज्जत सधैँ उच्च रह्यो, उनको चरित्रमाथि कसैले प्रश्न उठाउन सकेन । बलात्कार गरेर पुरुषको इज्जत बढेको इतिहास छैन । यौन हिंसा र बलात्कार महिलाको इज्जतसँग होइन पुरुषको मर्यादासँग जोडिएको विषय हो । यौन हिंसा गर्ने पुरुषको कुनै मान, मर्यादा, सम्मान हुँदैन भन्ने अनेकौँ उदाहरणहरू छन् ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा कचहरी बसिरहेका बेला एक बिहान एकजना महिला रुँदै–कराउँदै सभाअगाडि उभिइछन् । प्रधानमन्त्रीले सोधे– किन रोएकी ? के भयो तँलाई ? (त्यतिबेला प्रजालाई तँ भन्ने चलन थियो) महिलाले भनिन्– ममाथि हातपात भयो सरकार । त्यतिबेला बलात्कारलाई हातपात भएको भन्ने गरिन्थ्यो । महाराजले प्रश्न गरे, कसले हातपात गऱ्यो तँलाई ? एउटा पुरुषको नाम लिँदै उनले भनिन्– त्यसले गऱ्यो सरकार । नामै किटान गरेर भनेपछि सिपाहीलाई ती पुरुष खोज्न पठाइयो । सिपाहीले पुरुषलाई लिएर आए । सोधपुछ गरियो । महाराजका अगाडि ठूलो स्वरले बोल्ने कसको हिम्मत ? पुरुष उँधोमुन्टो लगाई हात बाँधेर बसे । महिलालाई महाराजले सोधे– तँ के चाहन्छेस् ? उनले केही रकम उल्लेख गर्दै यति पैसा सरकार भनिन् । (त्यतिबेलै एक सयभन्दा माथि रकम मागिएको थियो भन्ने छ) । बलात्कारको क्षतिपूर्तिस्वरूप उक्त रकम तिर्नका लागि पुरुषलाई भनियो । भोलिपल्ट ती पुरुषले रकम तिरे, महिला पैसा लिएर गइन् ।

एकछिनपछि महाराजले हेर्दा हात बाँधेर उभिएको पुरुषको आँखाबाट तरर आँसु झरिरहेको थियो । सोधे– के भयो तँलाई ? किन रोएको ? तैँले हातपात गरेको होइन ? उनले टाउकोको इशाराले होइन भने । मुखले बोल भनेपछि ‘होइन सरकार’ भने । महाराजले उनलाई ए… त्यसो भए जा त्यो आइमाई (महिलालाई आइमाई भन्ने चलन थियो) बाट अघिको पैसा खोसेर लिएर आइज भने । महिला अलि पर पुगेकी थिइन् । उनी दौडिएर गए, पैसा खोस्न लाग्दा दुवैको लडाइँ भयो । पुरुष खोस्ने, महिला नदिने । केहीबेरको खोसाखोसपछि पुरुष फर्किएर आए । महाराजले सोधे– पैसा ल्याइस् ? उनले भने– ल्याइनँ सरकार ! किन नल्याएको त ? जवाफमा उनले भने– ‘त्यो आइमाई कति दह्रो रै’छ सरकार, मैले त खोस्नै सकिनँ ।’ त्यसपछि महाराजलाई लागेछ, त्यो महिलाबाट यसले यति पैसा त खोस्न सकेन भने के बलात्कार गऱ्यो होला र ? त्यतिबेला अहिलेजस्तो प्रहरी, अदालत, कानून थिएन । पुष्टि गर्ने विवेकचाहिँ अहिलेको संयन्त्रभन्दा बढी भरपर्दो थियो । यो घटनामा महिलालाई किन झुट बोलेको ? भनेर सोध्दा अरू कसैले उनलाई त्यस्तो बोल्न लगाएको भन्ने थाहा भयो । ती पुरुषलाई फसाउन झुट बोल्न लाउने र ती महिला दुवैलाई कारबाही भयो भन्ने छ । यसप्रकारका घटनाको इतिहास पनि पुरानै रहेछ ।

परापूर्वकालदेखि नै यौनिकता महिलाका लागि सजायको विषय बन्यो । अहिले पनि बलात्कारीले भन्दा बढी बलात्कार हुनेले सम्मान जोगाउनुपर्ने अवस्था छ । बलात्कृत महिलालाई हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ ।

भगवान् गौतम बुद्धलाई पनि बलात्कारको आरोप लगाइएको थियो भन्दा अचम्म लाग्न सक्छ । आफूले आर्जेको ज्ञान बाँड्दै हिँड्ने क्रममा उहाँलाई धेरैले हीनताबोध हुने काम गरे । अपमान गर्नेमध्ये कसैले त मुखमा थुके पनि । तर, उहाँलाई कुनै असर परेन । एक दिन सम्बन्धित राज्यका राजा र मुख्य अधिकारीहरू बुद्धलाई भेट्न आएका बेला एक युवतीले कपडाको पोको पेटमा राखेर गर्भवतीझैँ देखाई ‘मैले नमान्दानमान्दै तपाईंले मलाई यस्तो गर्नु भो, अब सबैका अगाडि स्वीकार गर्नुस्’ भनिन् । मानिसहरूतिर हेर्दै उनले बुद्धले स्वीकार नगरे आफूलाई उपस्थित समुदायले न्याय दिनुपर्ने बताइन् । सबैले आश्चर्यभावमा बुद्धको मुखमा हेरे । बुद्धको मुहारमा कुनै परिवर्तन देखिएन । जवाफमा युवतीतिर हेर्दै उहाँले भन्नुभयो, ‘यो तिमीले किन भनिरहेकी छ्यौ भनेर तिमीलाई जति अरू कसैलाई थाहा छैन । खास कुरा के हो भनेर जान्ने तिमी मात्रै भएकाले यो कसरी भयो भनी आफ्नो मनलाई सोध अनि यहाँ आऊ ।’ बुद्धको कुरा सुनेर ती युवतीलाई ग्लानि भयो र उनलाई कसैले यस्तो गर भनेर अह्राएको बताइन् । ती युवती केही महिनादेखि नियमित बुद्धको दर्शनका लागि आउने गरेकी थिइन् । फस्ने, फसाउने काम २६ सय वर्षअघि पनि हुँदो रहेछ । तर, आफूले गल्ती गरेको छैन भने डराउनुपर्ने कारण नहुँदो रहेछ ।

पवित्र भनेर मानिने पञ्चकन्यामध्येकी एक अहिल्या गौतम ऋषिकी पत्नी थिइन् । अत्यन्त सुन्दर उनलाई देवराज इन्द्रले गौतम ऋषिको रूप लिई छल गरेर शारीरिक सम्बन्ध राखे । पति नै ठानेर राखिएको उक्त सम्बन्धको मूल्य अहिल्याले पत्थर बनेर चुकाउनुपऱ्यो । पतिको श्रापले उनी ढुङ्गामा परिणत भइन् । परापूर्वकालदेखि नै यौनिकता महिलाका लागि सजायको विषय बन्यो । अहिले पनि बलात्कारीले भन्दा बढी बलात्कार हुनेले सम्मान जोगाउनुपर्ने अवस्था छ । बलात्कृत महिलालाई हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ । विगतदेखि वर्तमानसम्मलाई हेर्दा यौन हिंसा र बलात्कारका नाममा महिलाहरू पीडित र प्रयोग दुवै भएका छन् । यो दुवै हुने अवस्था नआउनका लागि दृष्टिकोणमा परिवर्तन र कानुनको कार्यान्वयन दुवै एकसाथ हुनु आवश्यक छ ।

यो पनि हेर्नुहोस्-
बलात्कार के हो, के होइन ?