प्रधानमन्त्रीले पाएनन् दूत !

प्रधानमन्त्रीले पाएनन् दूत !


उत्तरको छिमेकी मुलुक चीनसँग सुमधुर सम्बन्ध बनाउन सफल प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को छिमेकी मित्रराष्ट्र भारतसँग माधुर्य बढाउन गर्नुभएको प्रयास अहिलेसम्म सफल भएको छैन । परराष्ट्रमन्त्री निकम्मा भएपछि उहाँले नयाँदिल्लीमा विशेष दूत पठाएर दुईपक्षीय सम्बन्धको चिसोपन घटाउन प्रयत्न गरिरहनुभएको त छ, तर उपयुक्त र समर्थवान दूतसमेत प्रधानमन्त्रीले फेला पार्नुभएको छैन ।

ओलीले राजपा नेता महन्थ ठाकुरलाई आफ्नो दूतका रूपमा भारत गएर वातावरण सहज बनाइदिन केही दिनअघि आग्रह गर्नुभएको थियो । भारतसँग सम्बन्ध सुमधुर बनाउन सहयोग गरेबापत ठाकुरलाई सभामुख चयन गरिने सङ्केतसमेत ओलीले दिनुभएको बताइन्छ । महन्थ ठाकुरले ओलीलाई आफूले ‘सक्दो प्रयास गर्ने’ वचन पनि दिनुभएको थियो । तर, ठाकुरले सम्बद्ध पक्षबाट ‘ग्रिन सिग्नल’ नपाएपछि उहाँ केपीको दूत बन्न असमर्थ हुनुभएको छ । दिल्ली गएर राजनीतिक तहमा वार्ता गर्न ठाकुरले समेत असमर्थता जनाउनुभएपछि प्रधानमन्त्री अलिक अप्ठ्यारोमा पर्नुभएको बताइन्छ ।

यसअघि प्रधानमन्त्रीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई विशेष दूतका रूपमा दिल्ली पठाउन लाग्नुभएको थियो र, माधव पनि दिल्ली जान हौसिनुभएको हो । नेता नेपालले नयाँदिल्ली पुगेर आफ्नो प्रधानमन्त्रीको सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिने मानसिक एवम् कागजी तयारी गर्नुभएको र कूटनीतिक च्यानलमार्फत मोदीसँग भेटको समय मिलाउन पनि उहाँले प्रक्रिया शुरु गर्नुभएको थियो । तर, मोदीसँग नेपालको भेट तय हुन सकेन र तत्काल भेट हुन सक्ने सम्भावना पनि देखिएन ।

यसरी भारतको सकारात्मक सङ्केत नदेखिएपछि माधवकुमार नेपाल पछि हट्नुभएको थियो । उहाँ पछि हटेपछि प्रधानमन्त्रीले महन्थ ठाकुरलाई आफ्नो विशेष दूत बनाएर पठाउन खोज्नुभएकोमा अब ठाकुर पनि पछि हटिसक्नुभएको छ । यतिबेला प्रधानमन्त्री केपी ओलीले नयाँदिल्ली गएर प्रधानमन्त्री मोदीसँग भेटी सहजीकरणको प्रक्रिया शुरु गरिदिने उपयुक्त पात्र खोजिरहनुभएको छ, तर भेटिरहनुभएको छैन । परराष्ट्रमन्त्री अनाडी र अक्षम भइदिँदा भोग्नुपर्ने पीडा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले व्यहोरिरहनुभएको छ ।