१३औँ ‘साग’ आयोजना कति सफल ?

१३औँ ‘साग’ आयोजना कति सफल ?


दक्षिण एसियाली राष्ट्रको ‘ओलम्पिक’ मानिने दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सम्पन्न भएको छ । दुई साताअघि जब प्रतियोगिता उद्घाटनको सङ्घारमै उभिएको थियो, त्यतिबेलासम्म पनि प्रतियोगिता आयोजनाको अवस्था के–कस्तो रहला भन्ने सवालका कारण आयोजक पक्ष उहापोहको अवस्थामा थियो । आलोचकहरूको त कुरै रहेन, शुभचिन्तकहरूसमेत ‘साग’ प्रतियोगिताको सफल आयोजनप्रति ढुक्क हुन सकिरहेका थिएनन् । जुन तहको प्रतियोगिता आयोजना गरिँदै थियो, भौतिक पूर्वाधारको दृष्टिले त्यसका लागि तयारी पूरा भइनसकेको अवस्था एकातिर थियो भने खेलाडीहरूका लागि आवश्यक तालिम, अभ्यास, प्रशिक्षण, आर्थिक–भौतिक सेवा–सुविधालगायत व्यवस्थापन पक्षमा दर्शिनुपर्ने सबलपन प्रकट भइरहेको पनि थिएन । जुनसुकै काम पनि बेला बित्न लागेपछि शुरु गर्ने ‘मस्त’ प्रवृत्तिको सिकार हुने त होइन १३औँ साग भन्ने प्रश्नले सम्बद्ध सबै पक्ष र तमाम खेलप्रेमीलाई पनि अत्यासमा पारेको थियो । अत्यन्त महत्वका साथ आयोजना हुने भनी प्रचारित खेल प्रतियोगिताको पूर्वार्धमा त्यसरी पन्पिएको संशय अन्ततः सुखद परिणतिका साथ टरेर गएको छ ।

भनिन्छ, कुनैै पनि देशको आर्थिक र सामाजिक विकासक्रम कस्तो छ भनेर नाप्ने प्रमुख केही आधारमध्येको एक ठूलो स्तरको खेल प्रतियोगिताको आयोजना पनि हो । प्रतियोगिताको आयोजनाका साथै आयोजक मुलुकले हासिल गर्ने ‘पदक’को श्रेणी र सङ्ख्या पनि उक्त देशको सबलताको द्योतक हुने मान्यता रहिआएको पाइन्छ । यस कोणबाट हेरिँदा नेपालले आयोजना गरेको १३औँ साग प्रतियोगितालाई स्वाभाविक रूपमा ग्रहण गर्न नसकिने परिवेश नै सघन थियो । अर्बौंको लगानी त्यसै खेर फालिँदै छ भन्ने अनुमानलाई असान्दर्भिक ठान्न नसकिने अवस्था थियो । त्यस्तो परिस्थितिमा पनि प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकुद परिषद् निर्धक्क दाबी गरिरहेको थियो कि नेपालले पचास स्वर्ण पदक जित्ने अभीष्ट राखेको छ, हामी जित्नेछौँ । राखेपको उक्त दाबी शुरुमा सुनिँदा जति अतिरञ्जनायुक्त वा हास्यास्पद लाग्दथ्यो, यतिबेला त्यो उत्तिकै आत्मविश्वास र लगनशीलताको पर्याय प्रतीत हुँदै छ ।

हुन पनि विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त हुन पुगेको देशकै प्रमुख रंगशालाको दयनीय भौतिक अवस्था, मर्मत एवम् प्रतियोगिताको निम्ति अपरिहार्य कैयन भौतिक संरचना निर्माणमा भएको ढिलासुस्ती र अस्तव्यस्तता, बन्द प्रशिक्षणमा रहेका होनहार खेलाडीको पलायनलगायतका सन्दर्भले पैदा गरेको निराशालाई चिरेर प्रतियोगितालाई ‘इज्जत’का साथ सम्पन्न गर्न सक्नु कम तारिफको विषय होइन । त्यसमाथि पूर्वदाबीअनुरूप नै हासिल भएको स्वर्ण पदकको सङ्ख्या र दोस्रो पोजिसन कायम गरेको गौरवपूर्ण परिणतिले आयोजक पक्षले हचुवामा नभई सुझबुझका साथ नै तयारी गरेको रहेछ भन्दा अतिशयोक्ति पक्कै ठहरिँदैन । राज्यले आँटेको एउटा ठूलै ‘समर’मा विजय हासिल भएको छ । नेपाली खेलकुदले नयाँ इतिहास रचेको छ ।

कतिपयले दाबी गरेजस्तो दक्षिण एसियाको एकतालाई ‘साग’ प्रतियोगिताले थप मजबुत बनाउने सवालमा कति योगदान पुऱ्यायो–पुऱ्याएन, यसको बेग्लै विश्लेषण हुन सक्छ, तर यसको सफलताले आगामी जनवरीदेखि शुरु हुने नेपाल सरकारको महत्वाकाङ्क्षी कार्यक्रम ‘भ्रमण वर्ष–२०२०’लाई सफल तुल्याउन निकै हदसम्म टेवा प्रदान गर्ने आकलनचाहिँ गर्न सकिन्छ । ‘साग’ आयोजनमा हासिल सफलताको अर्को सकारात्मक पाटो यो पनि हो । यसर्थमा राखेप परिवार, आबद्ध खेलाडी, पदाधिकारी, प्राविधिक तथा अन्यान्य सबै धन्यवादका पात्र भएका छन् । सिङ्गै देश र देशवासी गौरवान्वित बनेका छन् ।

यसको अर्थ पक्कै यो होइन कि नेपाली खेलकुद अब हलक्क भइहाल्यो ! देशको आर्थिक र सामाजिक विकासक्रम पनि उन्नत नै रहेछ भन्ने सन्देश बाह्य समुदायले पाइहाल्यो !! यस्तो आत्मरतिमा रमाउन खोजियो भने फेरि ओरालो लाग्न अरू कारण केही चाहिँदैन । यथार्थमा भन्नुपर्दा निकै तल नै छ नेपालको खेल–खेलाडीको अवस्था । आजसम्म राज्यले यस क्षेत्रको लागि जे–जति लगानी गरेको छ– यो अपर्याप्त छ र पनि लगानीको उचित प्रयोग, उपयोग हुन नसकेको र समष्टिमा भन्नुपर्दा प्रतिफल प्राप्ति निराशाजनक नै रहँदै आएको छ । यदि यस्तो अवस्था थिएन भने यतिबेला गरिएको अर्बौं लगानीको उपलब्धि अझै उमङ्गमय हुने थियो भन्न सकिन्छ । नेपालको खेल र झन्डा बेचेर आफूलाई स्थापित गराउनेहरूको लहर बढ्दै गएको परिवेशबीच ‘साग’मा हासिल भएको उपलब्धिलाई कायम राख्न सक्नु भावी चुनौती नै हो, राखेपका लागि । यो गम्भीरताका साथ महसुस गरिनुपर्छ । र, १३औँ सागको ‘सफल’ आयोजनाको लागि राखेपलाई पुनः एकपटक बधाई !