यस्तो छ ‘साग’ समापनको तयारी

यस्तो छ ‘साग’ समापनको तयारी


१३औँ दक्षिण एसियाली खेलकुद (साग) विशेष कार्यक्रमका साथ आज (२४ मंसिर, मंगलबार) समापन हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी गराएका छन् ।

मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्यसचिव सिलवालले प्रतियोगिता शुरुदेखि अहिलेसम्म ब्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई झनै ब्यवस्थित र भब्य बनाउन लागिएको जानकारी दिए ।

समापन समारोहकै दिन नेपाल र भुटानबीच फुटबलको फाइनल हुनेछ । त्यसअघि १२ बजे सांसद ११ र राष्ट्रसेवक कर्मचारी ११ बिच मैत्रीपूर्ण फुटबल पनि हुनेछ । फुटबल प्रतियोगिताको फाइनललगत्तै समापन समारोह शुरु हुनेछ ।

डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रविधिमार्फत सम्बोधन गर्ने भएका छन् । त्यसको दोश्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै खेलाडीहरूका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथी रहनु हुने समापन समारोहमा उपप्रधानमन्त्री पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिव सिलबालले सम्बोधन गर्नेछन् ।

समापन समारोहकै अवसरमा १४औँ साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ । त्यसैगरी नेपाल भ्रमण बर्ष २०२० लाई प्रबर्धन गर्ने गरी बिशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्यसचिव सिलवालले जानकारी गराए ।

सो अवसरमा साग ऐतिहासिक रुपमा सफलतापुर्बक सम्पन्न भएको सन्देश दिनेगरी मार्च पास, सांस्कृतिक कार्यक्रम र आतिसबाजी गरिनेछ । समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई विभिन्न श्रेणीमा बर्गिकरण गरी ब्यबस्थित गरिनेछ । त्यहां भीभीआईपी, भीआईपी, पत्रकार, पदक विजेता खेलाडी, विदेशी, कर्मचारीलगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने ब्यबस्था हुनेछ ।

समापनकै दिन फुटवल प्रतियोगिताको फाइनल भएकाले फुटवल हेर्नका लागि दुई हजार र एक हजार दरका टिकटको ब्यवस्था गरिएको छ । तिनै टिकटले समापन समारोहमा पनि सहभागी हुन सकिने बताइएको छ । उत्तरतर्फ १२ हजार जना अट्ने प्याराफिटका लागि ८ हजार टिकट मात्र बिक्री गरिएको छ ।

समापनका दिन सुरक्षा र पासमा पनि कडाई गरिनेछ । अत्यावश्यक बाहेक यसदिन पास निकै कम प्रयोग हुनेछन् । सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रवेश परिचपयपत्रसँगै आ–आफ्ना सञ्चारमाध्ययमका परिचय पत्र पनि बोक्नुपर्ने ब्यवस्था गरिएको छ । सम्बन्धित ब्यक्तिलाई तोकिएको सिटमा अरु कोही बस्न पाउने छैनन् ।