दुई दशकपछि नेपाललाई बक्सिङमा दुई स्वर्ण

दुई दशकपछि नेपाललाई बक्सिङमा दुई स्वर्ण


दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ । १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत मंसिर २३ गते सोमबार भएको खेलमा नेपालका मिनु गुरुङ र भूपेन्द« थापा मगरले स्वर्ण जितेका हुन् ।

महिला ५४ केजीको फाइनलमा मिनु गुरुङले भारतीय बक्सर शिक्षालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भइन् । उनले भारतीय खेलाडीलाई यूनानोमस डिसिजनको आधारमा हराउदै स्वर्ण चुमेकी हुन् । हारसंगै भारतीय खेलाडी रजतमा खुम्चिए । काश्य भने श्रीलंकाकी सजीवनी मुथुथान्तथ्री पताबेन्डिगे र बंगलादेशका ओनिता इस्लामले जितिन् ।

त्यस्तै ६४ केजीको फाइनलमा नेपालका भूपेन्द्र थापामगरले पनि सागको पुरुष बक्सिंगमा २० वर्षपछि पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाउन सफल भए । उनले भारतका मनिष कौशिकलाई अंकको आधारमा हराउँदै साग बक्सिंगमा २ दशक लामो स्वर्णको खडेरीलाई समाप्त पारेका छन् ।

यसअघि सन् १९९९ मा नेपालमा नै सम्पन्न सागको आठौ संस्करणमा नेपालका लागि दुई दाजुभाई रामचन्द्र थापामगर र प्रकाश थापामगरले स्वर्ण जितेका थिए । काश्य भने बंगलादेशमा अल अमिन मोहमद र श्रीलंकाका दिनिदु दु पोन्ननविला भिडानालागेले प्राप्त गरे ।

सोमबार भएको ८ वटा तौल समूहको फाइनलमा भने भारतीय मुक्केबाजहरुको दबदबा रह्यो । महिला ४८ केजीको फाइनलमा भारतकी कलाईभानी श्रीनिभासनले नेपालकी ललिता महर्जनलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै स्वर्ण चुमिन् । हारसँगै ललिताले रजत पदक प्राप्त गरिन् । काश्य भने भूटानका ल्हामो टान्डिन र नाडिका पुष्प रनसिंघे अराचिगेले प्राप्त गरिन् ।

त्यस्तै महिला ६० केजीमा नेपालकी संगीता सुनार पनि भारतीय बक्सरसँग स्पिलिट डिसिजनको आधारमा पराजित भइन् । हारसँगै संगीताले पनि नेपालका लागि रजत पदक जितिन । काश्य भने श्रीलंकाकी केशानी हंसिकाले प्राप्त गरिन् ।

महिला तथा पुरुष गरी सोमबार सम्पन्न आठ तौलको अन्तिम नतिजाअनुसार भारत ६ स्वर्ण, २ रजत र १ काश्य सहित अग्रस्थानमा रहेको छ । त्यस्तै नेपाल २ स्वर्ण, २ रजत र ३ काश्य सहित दोस्रो स्थानमा छ । यस्तै श्रीलंकाको १ रजत ४ काश्य , बंगलादेशको १ रजत ४ काश्य, पाकिस्तानको १ रजत २ काश्य र भूटानले १ रजत १ काश्य जितेको छ । मंगलबार हुने अन्य आठ वटा बाउटपछि मात्र टिम च्याम्पियनको घोषणा हुनेछ ।