नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा प्रदर्शन

नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा प्रदर्शन


नेपालीभूमि समेटेर भारतले नक्शा सार्वजनिक गरेको विषयका कारण उत्पन्न राजनीतिक तरङ्गकाबीच नेपाल विद्यार्थी संघले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेको छ ।

नेपाल विद्यार्थी सङ्घका नेता नवराज त्रिपाठीको अगुवाइमा काठमाडौंको वसन्तपुरमा सोमबार हजारौँ विद्यार्थीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्शा प्रदर्शन गरेका हुन् । त्रिपाठी ‘चिनांै सीमा, जोगाऔं माटो’ अभियानका संयोजक समेत हुन् ।

अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाउँदै नेविसङ्घले वृहद प्रदर्शनसहित नक्शा सार्वजनिक गरेको हो ।

काठमाडौंका विभिन्न विद्यालयमा पुगेर नेपालको वास्तविक नक्शा बनाउन सिकाइएको जानकारी दिँदै अभियानका संयोजक विद्यार्थी नेता त्रिपाठीले नेपालको भूमि मिचिँदासमेत हजारौँ नागरिकलाई आफ्नो देशको वास्तविक नक्शाबारे थाहा नभएको बताए । उनले आम नागरिकलाई देशको भूमि चिनाउन अभियान गरिएको जानकारी दिए ।

सो अवसरमा नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले गुमेको भूमि फिर्ता गराउने अभियानमा नेपाल विद्यार्थी सङ्घ ७७ वटै जिल्लामा सक्रिय हुने खुलासा गरे ।