राष्ट्रपतिको आदेशमा तान्जेनियामा पाँच हजार ५०० कैदी जेलमुक्त

राष्ट्रपतिको आदेशमा तान्जेनियामा पाँच हजार ५०० कैदी जेलमुक्त


तान्जेनियाका राष्ट्रपति जोन मागुफुलीले पाँच हजार ५०० कैदीलाई जेलमुक्त गर्न आदेश दिएका छन् । अत्यधिक भिडभाडयुक्त जेलमा रहेका कैदीहरूलाई उनले देशको स्वतन्त्रता दिवसको अवसरमा सोमबार मुक्त गर्ने आदेश दिएका हुन् ।

अत्यन्त लोकप्रिय राष्ट्रपति मागुफुलीले कैदीप्रति सहानुभूति देखाउन र कारागारमा भएको भिडभाड हटाउन यति धेरै कैदीलाई जेलमुक्तको घोषणा गरेका हुन् । एएफपीले जनाएअनुसार तान्जेनियामा अहिले झण्डै ३६ हजार कैदीहरू विभिन्न कारागारमा रहेको सरकारी तथ्याङ्क छ । अधिकांशमा आधारभूत सेवा सुविधा पनि नरहेको बताउने गरिएको छ ।

तान्जेनियाको राष्ट्रिय स्वतन्त्रता दिवसलाई विषेश बनाउनका लागि उनले सयौँ कैदीलाई आममाफी दिएका हुन् । ‘जेलभित्रै रहेका बेला व्यवहारमा केही सुधार देखिएका कैदीलाई अहिले जेलमुक्त गरिएको हो, मलाई विश्वास छ की जेलमुक्त भएकाहरु आगामी दिनमा अझ बढी सुध्रिनेछन्,’ उनले भनेका छन् ।

यो आममाफीले कारागारहरुलाई व्यवस्थित बनाउन सजिलो गराउने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरेका छन् । सन् २०१५ मा शक्तिमा आएका राष्ट्रपति मागुफुली भ्रष्टाचारविरोधी लडाकू मानिन्छन् ।