फिनल्याण्डकी ३४ वर्षीया मरिन विश्वकै कान्छी प्रधानमन्त्री

फिनल्याण्डकी ३४ वर्षीया मरिन विश्वकै कान्छी प्रधानमन्त्री


फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्ने भएकी छिन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

आफ्नो पार्टीकी उपाध्यक्ष समेत रहेकी उनले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत वर्ष पार्टी चलाएकी थिइन् ।

गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी)ले प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ बर्षीया मरिनलाई सरकारको नेतृत्व गर्न पठाउने गरी चयन गरेको छ ।

विश्वका कान्छा प्रधानमन्त्रीमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको उमेर ३९ वर्ष रहेको छ ।

सोसल डेमोक्र्याटिक संसदीय समूहमा मरिनले ३७ वर्षीय अन्ति लिन्डमानलाई तीन मतले पराजित गर्दै प्रधानमन्त्री बन्ने बाटो सुनिश्चित गरेकी हुन् । लिन्डमानले २९ मत ल्याउँदा मरिनले ३२ मत ल्याएकी सिन्ह्वाले जनाएको छ ।

पार्टीभित्रको निर्वाचन आइतबार भएको थियो भने नतिजा राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिएको थियो । हुलाक सेवामा भएको हडतालको विषयले नराम्रो रुप लिँदै गएपछि निवर्तमान प्रधानमन्त्री रिन्नेले भने विश्वासको मत गुमाएर राजिनामा दिएका हुन् । उनलाई गठबन्धनमा रहेकै दलका सांसदहरूले असहयोग गरेका थिए ।

निवर्तमान प्रधानमन्त्रीलाई असहयोग गरेका दलका सांसदहरू पनि नयाँ गठबन्धनसमेतमा सँगै रहेका छन् । उनीहरूले नयाँ सरकार बनाउने बारेमा पनि छलफल गरिरहेका छन् । मारिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्ने पनि निर्णय भएको छ । गठबन्धनमा सोसल डेमोक्र्याट्स, सेन्टर, ग्रिन्स, लेफ्ट एलाईन्स र स्वेडिस पिपल्स पार्टी रहेका छन् । उनीहरूमध्ये सेन्टरले निवर्तमान प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

गत अप्रिलमा गरिएको निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी ठूलो दल बनेकोले त्यही दलबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्था अनुसार मारिन प्रधानमन्त्री बन्न लागेकी हुन् । प्रधानमन्त्रीका लागि निर्वाचित भएसँगै उनले छोटो वक्तव्य दिँदै सबै पार्टीहरुलाई एकजुट हुन आह्वान गरेकी छन् ।

आमाले एक्लै हुर्काएकी मारिनले प्रशासनशास्त्रमा स्नातकोत्तर गरेकी छिन् भने विश्वविद्यालयमा पढ्न जानेमा उनी आफ्नो परिवारको पहिलो व्यक्ति पनि बनेकी थिइन् ।