सुटिङमा नेपाल पदकविहीन, बीसमध्ये १८ स्वर्ण भारतको पोल्टामा

सुटिङमा नेपाल पदकविहीन, बीसमध्ये १८ स्वर्ण भारतको पोल्टामा


सागअन्तर्गत सुटिङ विधामा कुल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कास्य गरी कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरी २९ पदक जित्न सफल भयो ।

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्यसहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बंगलादेशले कुल १० पदक हात पार्न सफल भयो । बंगलादेशले ६ रजत र ४ कास्य पदक जितेको हो । चौथो स्थानमा रहेका श्रीलंकाले २ रजत र ५ कास्य गरि कुल सात पदक हात पारेको छ । माल्दिभ्स, भुटान र नेपाल पदकविहीन रहे ।

सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलंकाले रजत र बंगलादेशले कास्य पदक जिते । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो । यसको समूह चरणमा नेपाली टिम पाँचौं हुँदै बाहिरिएको थियो ।

भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अकंसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको भिडन्तमा श्रीलंकाका एलभीस के.ए.आई. र फर्नान्डो टी.डी.एसको जोडी ८ अंकमा रोकिएको थियो ।

कास्य पदकका लागि भने बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए । जसमा बंगलादेशले बाजी मार्न सफल भयो । बंगलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अंकका साथ कास्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अंककमा रोकिँदै चौथो स्थानमा रहे ।