बंगालदेशले जित्यो आर्चरीको १० वटै स्वर्ण

बंगालदेशले जित्यो आर्चरीको १० वटै स्वर्ण


दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा मंसिर २३ गते सोमबार सम्पन्न आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक जित्न सफल भएको छ ।

१० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

सोमबार भएको रिकर्भ महिला तथा पुरुषतर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउण्ड तर्फको महिला तथा पुरुषतर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो ।

खेलमा रिकर्भ पुरुष तर्फको खेलमा बंगलादेशका विश्व ऱ्याङ्किङमा दशौँभित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे । सोहि इभेण्टको महिला तर्फ बंगलादेशकी १४ बर्षकी उदीयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।

रिकर्भ एकल पुरुषतर्फ श्रीलंकाले कास्य पदक हात पार्न सफल भयो । श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोहि इभेण्टको महिला तर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् । कर्मा ओलम्पिकमा छनौट भएकी खेलाडी हुन् ।

त्यसैगरी कम्पाउण्ड एकल पुरुषतर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डीङलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भयो । कास्य पदकको लागि भएको खेलमा बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वसन्त कुमारलाई पराजित गरी कास्यपदक जितेका हुन् ।

सोही इभेण्टको महिलातर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । श्रीलंकाले यस बिधामा कास्य पदक हात पाऱ्यो । श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् ।

आइतबार ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदक माथि बंगलादेशले एकलौटि ढंगले बर्चश्व जमाउन सफल भएको थियो । बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्स तर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो । बंगलादशेका प्रमुख प्रशिक्षक मार्टिनले आफुहरुले सागको लागि ६ महिनादेखि बन्द प्रशिक्षण गरेको धेरै मेहनत गरेकोले उत्कृष्ट नतिजा आएको बताए ।

दुई वर्षदेखि बंगालादेशको टिम प्रशिक्षण गराउँदै आएको बताएका उनले आफुहरुसँग वल्र्ड च्याम्पियनशिपमा कास्य पदक विजेता साना, कक्षा ८ मा अध्यनरत १४ वर्षकी खातुन जस्ता उदीयमान खेलाडीले आफुहरुले प्रशिक्षण गराए अनुसार उत्कृष्ट प्रर्दशन गरेको जनाए ।

१२औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । सागमा सहभागि राष्ट्र मध्य प्रमुख दाबेदारको रुपमा भारतलाई मानिए पनि यस पटक भारत सहभागि नहुँदा अधिकांश पदक बंगलादेशले हात पार्न सफल भयो ।