नेपालकी अंजली सर्वोत्कृष्ट खेलाडी

नेपालकी अंजली सर्वोत्कृष्ट खेलाडी


१३ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । मंसिर २२ गते आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकामाथि २ रनको सनसनीपूर्ण जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हात पार्दा नेपालले कास्यमा चित्त बुझायो ।
फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रनको मध्यम स्कोर बनाएको थियो । जितका लागि ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका जितको नजिकै पुगेर ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो ।

श्रीलंकालाई रोक्ने क्रममा बंगलादेशका बलरहरु नहिदा अख्तरले २ तथा जहानरा आलम, सलमान खातुन, र खादिजा खुर्वाले समान एक एक विकेट लिए । ४ ओभरको स्पेलमा १ मेडन सहितमात्रै ९ रन खर्चिएर २ विकेट लिएकी नहिदा अख्तर प्लेयर अफ द फाइनल भइन् ।

यसअघि पहिला ब्याटिङ गर्दै ९१ रन बनाएको बंगलादेशका लागि निगार सुल्तानले सर्वाधिक २९ रन जोडिन् । त्यस्तै, संजिदा इस्लाम र फाहिमा खातुनले समान १५÷१५ रन बनाए भने मुर्सिबा खातुनले १४ रन बनाइन् ।

श्रीलंकाको बलिङमा उमा साथिमेसाजले ४ तथा सत्या सन्दिपनी, सरिका सेवान्डी, कभिसादिल्हारी र नलासा रनतुङ्गाले समान १÷१ विकेट हात पारे । श्रीलंकाको ब्याटिङ्गमा हर्षिता समाराविराले ३२, लिहिनी अप्सराले २५ तथा निलक्साना सन्दामिनीले १० रन जोडिन् ।

४ इनिङ्गमा ११.१ ओभर बलिङ्ग गर्दै ५ मेडनसहित ११ विकेट लिएकी नेपालकी बलर अंजली चन्द प्रतियोगिताकै उत्कृष्ट बलर सहित सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै ४ इनिङमा १ सय ८७ रन जोडेकी श्रीलंकाकी हर्षिता समारा विकर्मा उत्कृष्ट ब्याट्सम्यान घोषित भइन् ।