आगलागीपीडितलाई प्रधानमन्त्री र मुख्यमन्त्रीद्वारा राहत घोषणा

आगलागीपीडितलाई प्रधानमन्त्री र मुख्यमन्त्रीद्वारा राहत घोषणा


नयाँ दिल्ली (भारत)मा भएको आगलागीका पीडितहरुलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रारम्भिक राहतको घोषणा गरेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी उनले राहतको घोषणा गरेका हुन् । उनले आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई प्रतिव्यक्ति ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन् ।

त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि मृतकका परिवारलाई प्रतिव्यक्ति दश लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । केजरीवालले घाइतेहरुलाई चाहिँ प्रतिव्यक्ति एक लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका एएनआईले जनाएको छ ।

आइतबार (२२ मंसिर) विहान भएको आगलागीमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् । नयाँ दिल्लीको रानी झाँसी रोडस्थित अनाज मण्डीमा रहेको एउटा कारखानामा आगलागी भएको थियो । आगलागी भएको ठाउँबाट झण्डै ६२ जनालाई उद्धार गरिएको उद्धारकर्ताहरुको भनाई छ । घाइतेहरुको नजिकैका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने मृतकको संख्या झै बढ्न सक्ने जनाइएको छ । सो घटनाका बारेमा अनुसन्धान गरी सत्य तथ्यसहितको प्रतिवदेन पेश गर्न राज्य सरकारले एक हप्ताको समयसीमासहित छानविन टोली पनि खटाएको छ ।

घटनाप्रति भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले पनि दुःख व्यक्त गरेको छ । पार्टीकी महासचिव प्रियंका गान्धीले घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छिन् ।

कारखानाका सञ्चालक फरार

नयाँ दिल्लीमा आगलागी भएको कारखानाका सञ्चालक फरार भएका छन् । नयाँदिल्लीस्थित अनाज मण्डीमा रहेको कारखानाका सञ्चालक सम्पर्कविहिन रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । कारखाना सञ्चालकलाई फौजदारी अभियोग लाग्ने भारतीय कानुनमा व्यवस्था भए पनि उनी फरार रहेको प्रहरीको भनाई छ । दिल्ली प्रहरीले फरार भएका कारखाना सञ्चालकको खोजी भइरहेको र घटनाका बारेमा विस्तृत अध्ययन अनुसन्धान भइरहेको जनाएको छ ।