राप्रपालाई उपनिर्वाचनको सन्देश

राप्रपालाई उपनिर्वाचनको सन्देश


■ विजय खड्का

एकाध संसदीय क्षेत्र, केही नगर, गाउँ–वडाको निर्वाचनलाई राष्ट्रिय मुद्दासँग जोडेर दलहरूको सफलता–असफलताको मापक बनाइहाल्नुपर्ने अवस्था पक्कै होइन । तर, अघिल्लो निर्वाचन र अब हुने निर्वाचनको मध्यसमयमा भएको निर्वाचनले केही सङ्केत, केही बहस भने अवश्य पैदा गरेको छ । अहिलेको निर्वाचनको परिणाम हेर्दा पहिला जुन–जुन दलले जितेका थिए त्यही परिणाम दोहोरिएको छ । एकाध ठाउँमा काङ्ग्रेसको स्थान कम्युनिस्टले खोस्ने र कम्युनिस्टको स्थान काङ्ग्रेसले लिनुबाहेक निर्वाचनमा खासै ठूलो बदलाव आएको देखिँदैन । पहिला पनि यिनै दलका प्रतिनिधि चुनिएका हुन् । अहिलेको निर्वाचनले विशेषगरी शहरी र सचेत क्षेत्रको केही ठाउँमा काङ्ग्रेसले परिणाम उल्ट्याएको छ । शहरी मतदाता दुईतिहाइको सरकारसँग खुशी नभएको यो प्रस्ट सङ्केत हो ।

अब आगामी निर्वाचनमा यसको स्पष्ट प्रभाव देखिनेछ । यो निर्वाचनमा समाजवादीलगायत मधेसवादी दलको पनि खासै प्रभाव देखिएन । सीमित ठाउँमा सफलताबाहेक उल्लेख्य मत प्राप्त गर्न ती दल असफल रहे । साझा पार्टीको मिडियामा जुन किसिमको तामझाम थियो, अधिकांश मिडियाले प्रतिस्पर्धामा कम्युनिस्ट, काङ्ग्रेस र साझा पार्टीको उम्मेदवारको फोटो र चुनाव चिह्नसमेत राखेर प्रतिस्पर्धा छ भनेका थिए । साझा पार्टीले खासै मत प्राप्त गर्न सकेन । यो पार्टी राप्रपाभन्दा पछि पऱ्यो । राप्रपाले पनि यो निर्वाचनबाट गम्भीर समीक्षा गर्नुपर्ने स्थिति रह्यो । यथास्थितिमा पार्टी अघि बढाउनु भनेको अर्काे निर्वाचनलाई नजरअन्दाज गर्नु मात्र हुने अहिलेको निर्वाचन परिणामले सन्देश दिएको छ ।

किन पछि पऱ्यो राप्रपा ?

राप्रपाले यी निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचनमा पनि उल्लेख्य मत प्राप्त गरेको होइन । खासै कुनै क्षेत्रमा निर्वाचन जितिने आकलन पनि थिएन । राप्रपाको प्रभाव क्षेत्रमा मतदान भएको पनि होइन । तर, राप्रपाजस्तो राष्ट्रवादी पार्टी राजसंस्था र हिन्दुत्वसहितको समृद्ध नेपालको मुद्दा बोकेको पार्टी । सिङ्गो मुलुकले चिनेको पार्टी आज किन नगन्य मात्र मत परिणाममा सीमित भयो ? यसको गम्भीर विश्लेषणको पक्कै जरुरी छ । मूलतः अघिल्लो संसदीय निर्वाचनमा सीमित क्षेत्रबाहेक अन्य स्थानमा उम्मेदवारी नदिनु, पार्टी निरन्तर फुट्नु, पार्टी नेतृत्व र पार्टीको विषयमा छरिएको अनर्गल भ्रम चिर्न नसक्नु, पटक–पटक सत्तामा जानुलाई अझैसम्म पनि जनताले माफ दिएको पाइएन । अन्यथा ८१.२ प्रतिशत हिन्दू मतसहित ९३ प्रतिशत ॐ कार परिवारको मतको सैद्धान्तिक धरातलको जगमा उभिएको पार्टीको यो परिणाम पक्कै हुनु नपर्ने हो ।

तमाम विकृति–विसङ्गति भ्रष्टाचार, बलात्कारलगायतका काण्डैकाण्डसँग जोडिएको सरकारको असफलतालाई जनतासामु पुऱ्याउन नसक्नु र जनआक्रोशलाई भोटमा परिणत गर्न नसक्नु पनि राप्रपालगायतका प्रतिपक्षी दलको कमजोरी नै हो । अहिले राजा देशाटनमा छन् । राजाको भ्रमणमा उल्लेख्य नागरिकको सद्भाव, सहानुभूति र उपस्थिति देखिन्छ । तर, मत दिने बेलामा ती मतहरूको पनि संरक्षण गर्न सकिएन । राजसंस्थावादीको अधिकांश मत ठूला भनिने पार्टीलाई नै गएको अनुमान लगाउन सकिन्छ ।

अहिले राजसंस्थावादी पार्टीलाई राजाको सद्भावको निरन्तर आवश्यकता छ । पारस्परिक सहकार्य आजको आवश्यकता हो । यो कुरा राजा र दल दुवैले बुझ्नु आवश्यक छ । राजालाई एउटा बलियो राजसंस्थावादी दलको आवश्यकता छ भने दललाई एउटा जनअपेक्षाअनुरूपको लोकतान्त्रिक राजसंस्थासँग सहकार्य गर्ने चाहना छ । यसलाई परिणाममुखी बनाउन पनि राप्रपा र राजसंस्थाको सहकार्य नितान्त आवश्यक छ । त्यस्तै, मठ–मन्दिर, धार्मिक संस्थाका व्यक्तित्वको पनि मतको संरक्षण गर्न असफल रह्यौँ । यस्ता अधिकांश मत धर्मनिरपेक्षवादी पार्टीले नै प्राप्त गरे । यो जमातलाई विश्वासमा राख्न नसक्नु पनि कमजोरी नै हो । यो समुदायसँग पनि विश्वास र सहकार्यको आवश्यकता छ ।

यीलगायत पार्टी र नेतृत्वविरुद्धको भ्रम चिर्न नसक्नु पनि अर्काे महत्वपूर्ण कमजोरी रह्यो । पार्टी कार्यकर्ताको वस्तुपरक आधारमा मूल्याङ्कन गर्न नसक्नु, काम गरेका र नगरेका सबैलाई एउटै बास्केटमा राखेर हेर्नु । बीसौँ वर्षदेखि पार्टीबाट सुको नलिई रगत–पसिना बगाउने कार्यकर्ताको योगदानलाई आर्थिक रूपान्तरण गर्ने हो भने एउटा कार्यकर्ताले करोडौँको योगदान पार्टी निर्माण र सङ्गठनमा गरेका छन् । आज एकाध दिन काम गर्ने र २–४ लाख चन्दा दिएको भरमा अमूक व्यक्तिलाई ती कार्यकर्ताको नेता बनाउँदा कार्यकर्तामा हीनताबोध बढेको छ । लघुताभाष भएको छ । यो मामिलामा पनि पार्टीको व्यवस्थापन कमजोर रह्यो । यस्तै आन्तरिक कमी–कमजोरीका साथै मुलुकका युवाहरूलाई उत्पादनसँग जोड्न नसक्नु, उद्यमशीलतालाई पार्टीले अङ्ग बनाउन नसक्नुलगायतका कारणले पार्टीले यस निर्वाचनमा असफलता व्यहोरेको प्रस्ट हुन्छ ।

लोकतान्त्रिक धारसँग एकता :

यो निर्वाचनमा राप्रपा सबै स्थानमा एक्लै प्रतिस्पर्धामा थियो, केही ठाउँमा आशातीत मत र केही ठाउँमा निराशाजनक मत राप्रपाले पायो । भक्तपुर प्रदेश सभाको निर्वाचनमा प्रभावशाली मत रहेको राप्रपा संयुक्तको प्राविधिक कारणले उम्मेदवारी रद्द भएपछि सो मत राप्रपाको गाई चिह्नमा पर्ने अनुमान धेरैको थियो । यसअघि राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर जबराले ट्विटमार्फत उम्मेदवारी नपरेको ठाउँमा एक–अर्कालाई सघाउने विचार व्यक्त गरेका थिए । यसको बाबजुद राप्रपा संयुक्तले संस्थागत रूपमै काङ्ग्रेसलाई सहयोग ग¥यो । यो कारणले पार्टी एकतामा केही बाधा पुग्ने हो कि भन्ने अनुमान गरिए तापनि राप्रपा संयुक्तका अध्यक्षले ट्विटमा नै अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको लागि मात्र एक–अर्कालाई सहयोग गर्ने भनेबाट कुरा प्रस्ट र टुङ्गिइसकेको विषय हो ।

साथै, राप्रपा संयुक्तको साथले भक्तपुर प्रदेशमा राम्रो मतान्तरले काङ्ग्रेसले विजय पनि प्राप्त गऱ्यो । काङ्ग्रेसको लागि सञ्जीवनी प्राप्त गरेको यो विजयले प्रजातान्त्रिक शक्तिको गठबन्धनले मात्र दुईतिहाइको कम्युनिस्ट गठबन्धनलाई दर्बिलो चुनौती पेस गर्न सक्छ भन्ने नजिर कायम गरेको छ । यो प्रतिपक्षीहरूको लागि खुशीकै विषय हो । अबको लोकतान्त्रिक दलहरूको सहयात्रा, गठबन्धन र आन्दोलनलाई यो विजयले कोसेढुङ्गाको काम गर्नेछ ।

बीजेपीसँगको सम्बन्ध :

राप्रपा राष्ट्रवादी पार्टी हो । यसले राष्ट्रियताको लागि कसैसँग सम्झौता गर्दैन । काङ्ग्रेस–कम्युनिस्टले ०४७ सालको प्रजातन्त्र स्थापनाको लागि चन्द्रशेखर र येंचुरीलाई चाक्सीबारीमा उफारेको, नाकाबन्दीको मारमा नेपाली जनतालाई पारेका तथा माओवादीसहित अन्य पार्टीहरूले ०६२/६३ को आन्दोलन दिल्लीमा गरिएको १२ बुँदेको बलबुतामा आएको भन्ने प्रस्ट नै छ । राजाहरूले विदेशी शक्तिसँग सम्झौता गरेको भए भुटानमा निरङ्कुश राजसंस्था रहेजसरी नै नेपालमा पनि त्यही अवस्था हुन्थ्यो ।

अहिले भारतमा राप्रपा र विशेषगरी हिन्दुत्वमा सहकार्य गर्न रुचाउने बीजेपी सरकारमा छ । हिन्दुत्वप्रति बीजेपीको सद्भाव र समर्थन निरन्तर रहेको उत्तर प्रदेशका मुख्यमन्त्री योगीजी र अन्य नेताबाट बारम्बार आएको भनाइबाट पनि प्रस्ट हुन्छ । तर, राप्रपाजस्तो राष्ट्रवादी पार्टीले काङ्ग्रेस–कम्युनिस्ट जसरी मुलुकको सार्वभौमिकतामा खेलेर कुनै पनि मुद्दाको लागि विदेशी दल वा शक्तिसँग सम्झौता गर्नुहुँदैन र गर्दैन पनि । मुलुकका जनतामार्फत आन्दोलन वा मताधिकारबाट अर्काे एउटा परिवर्तन गर्नुपर्छ र त्यस्तो परिवर्तनको लागि समान विचारधारा भएका दलहरू र विश्व समुदायको सद्भाव अनि सहयोगको पनि आवश्यकता रहन्छ । अन्तर्राष्ट्रिय परिस्थिति राष्ट्रवादी शक्तिको अनुकूल रहेको बेला राप्रपाले छलाङ मार्न सक्नुपर्छ । भारतमा समान विचारधारा भएको बीजेपी शक्तिमा हुनु आमहिन्दूवादी र राप्रपाको लागि फाइदाको कुरा हो । पूर्वी युरोप, सोभियत सङ्घ, चीन, भारतको पश्चिम बङ्गाल कम्युनिस्टमय भएको बेला जसरी नेपालमा कम्युनिस्ट आन्दोलन चर्केको थियो त्यसैगरी भारतलगायत धेरै मुलुकमा राष्ट्रवादी शक्ति हाबी भएको बेला राप्रपाले ऐतिहासिक फड्को मार्न सक्नुपर्छ ।

अबको बाटो :

आशातीत मत प्राप्त नभए पनि आत्तिइहाल्नुपर्ने, निराश हुनुपर्ने अवस्थाचाहिँ पक्कै होइन र यो छुट राप्रपालाई छैन पनि । मुलुककै एक मात्र फरक विचार र सिद्धान्त भएको पार्टी राप्रपा हो । यसको सङ्गठन सानै मात्रामा भए पनि देशैभरि रहेको छ । राजा र धर्मको नाममा खोलिएको र खोलिने अन्य पार्टीभन्दा मुद्दाको खास स्वामित्व बोक्ने पार्टी राप्रपा नै हो, किनकि ०६२/६३ को आन्दोलनको रापतापमा ज्यान हत्केलामा राखेर खोलिएको ‘राप्रपा नेपाल’को सिद्धान्त नै राप्रपाको अहिलेको सिद्धान्त हो । नेतृत्व पनि त्यही जगमा उभिएर स्थापित भएको हो । अहिले राजा र धर्म भनेर खुला रूपले सङ्गठन गर्न पाउने वातावरण पनि यही राष्ट्रिय प्रजातन्त्र पार्टीको सङ्घर्षको जगमा तयार भएको हो ।

तसर्थ, जनताले राप्रपालाई पुनः सच्चिएर, मिलेर आउनु भन्ने सन्देश प्रवाह गरेका छन् । आजभन्दा २८–३० वर्षअघि दुई सिटमा सीमित पार्टी बीजेपी आज दुईतिहाइनजिक छ । यसैले पनि राप्रपाको सिद्धान्त र मुद्दा अब्बल छ भन्ने स्पष्ट प्रमाण हो । विश्व राजनीतिका घटनाक्रमले राप्रपा थप उत्साहित हुनुपर्छ । संसारभरि राष्ट्रवादी धारले नेतृत्व लिइरहेका छन्, मूलधारको पार्टी बनेका छन् । यसलाई क्यास गर्ने क्षमता भएका नेता–कार्यकर्ता राप्रपाले जन्माउन सक्नुपर्दछ । नेपाली जनतालाई विश्वास दिलाउन सके राप्रपा अबको केही समयमा नै मुलुकको निर्णायक शक्ति बन्ने कुरामा दुविधा छैन ।

पार्टी एकता :

राप्रपामा फुट आवश्यक थिएन, बरु बहस आवश्यक थियो, छलफल आवश्यक थियो । महाधिवेशनको एकाध महिनामै पार्टी चोइटिनु–फुट्नु दर्दनाक नै थियो । पार्टी पछि पर्नुको मुख्य जड त्यही फुट थियो । विगतका खाटा बसेका कुरा कोट्याउनुभन्दा नयाँ शिराबाट महाधिवेशनको म्यान्डेडलाई आधार बनाउँदै दिगो एकता खोज्नु आजको आवश्यकता हो । सङ्गठन, सैद्धान्तिक, वैचारिक सबै हिसाबले राप्रपा संयुक्तभन्दा राप्रपा ठूलो पार्टी हो, तर बिनासर्त एकता गर्दा को ठूलो को सानोभन्दा पनि पार्टी कसरी बलियो बनाउने भन्ने कुरा नै मुख्य हो ।

अहिले राप्रपामा वैचारिक द्वन्द्वमा भन्दा पनि नेताहरूको जुँगाको लडाइमा नै एकता अल्झिएको छ । वैचारिक धरातलमा स्पष्ट राप्रपाको लाइनमा राप्रपा संयुक्त पनि उभिएको छ भलै यसका नेताहरूको विगत गणतन्त्रवादी किन नहोस्, राप्रपाको आमकार्यकर्ता, शुभेच्छुक शुभचिन्तकको पार्टी एकीकरणको तीव्र अभिलाषा छ । सिङ्गो राप्रपाले मात्र मुलुकलाई गति दिन सक्छ । कार्यकर्तालाई उत्साहित बनाउँछ भन्नेमा सबैको एकमत छ । तर, सबै राप्रपाका पुराना नेताहरूलाई अझै सत्ताको धङधङीले छोडेको छैन । पञ्चायती मानसिकता हाबी छ । व्यक्तिवादी सोचले गाँजेको छ । सङ्गठनभन्दा व्यक्तिलाई महत्व दिने प्रवृत्ति छ ।

हिन्दुत्व राजसंस्थासमेत समृद्ध नेपालको सपना, आमकार्यकर्ताको भविष्यको भन्दा पनि आफ्नै पदीय जोड–घटाउ, मान–सम्मान, गुट–उपगुट र स्वार्थ समूहको हित र समायोजनमा नै पार्टी एकता अल्झिएको महसुस हुन्छ । पार्टीलाई गन्तव्यमा पुऱ्याउने गतिशील नेतृत्वलाई व्यवधान सिर्जना गर्ने, घेराबन्दी गर्ने, बदनाम गराउनेमा समेत केही प्रयोग गरिएका छन् । अहिले भागमा घिउ नभए पनि बाउबाजेले खाएको घिउको गन्ध हातमा सुँघाउनमै नेतृत्व रमाइरहेको अवस्था छ । अब आमकार्यकर्ताले पार्टी एकताको निम्ति दबाब सिर्जना गर्नुपर्ने अवस्था आएको छ । युवा नेतृत्व तयार नभएसम्म समझदारीपूर्वक सम्झौता गरी पार्टी एक गरेर अघि बढ्नु आजको आवश्यकता हो । राप्रपाको एकीकरणले मात्र पनि नेपाली जनताको सपना छिटो पूरा हुने सम्भावना कम छ । अपेक्षित परिणाम चाँडै निकाल्न सम्पूर्ण राप्रपा नामका पार्टीपङ्क्ति, राष्ट्रभक्तहरू, सम्पूर्ण राजसंस्थावादी, हिन्दूवादी, प्रवासमा रहेका आमनेपाली समुदाय, नेपाल राष्ट्रलाई माया गर्ने सबैले राप्रपा मेरो पार्टी हो भन्ने स्वामित्व लिने दिन आएपछि मात्र सबै नेपालीको सपना पूरा हुनेछ । जय राष्ट्र !

(खड्का राप्रपा केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख हुन् ।)