विपक्षीको विरोधको अर्थ नभएको टोपबहादुरको जिकिर

विपक्षीको विरोधको अर्थ नभएको टोपबहादुरको जिकिर


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले सरकारले तीव्र गतिमा परिणाम आउने गरी काम गरिरहेकाले विपक्षीको विरोध अर्थ नभएको अभिव्यक्ति दिएका छन् । राष्ट्रियता, सुशासन, विकास र समृद्धिको यात्रामा सरकार अघि बढिरहेको दाबी गर्दै उनले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारको विरोध र आलोचना गरेका विषयमा सत्यता नभएको जिकिर गरे ।

राजधानीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता रायमाझीले सरकार पछिल्लो समय भ्रष्टाचार निर्मूलीकरणका लागि कठोर रूपमा अघि बढिरहेको भन्दै राष्ट्रियताको विषयमा पनि आफ्नो अडानमा रहेको बताए । ‘भारतले नेपालको सीमा अतिक्रमण गरेको विषय अहिले उजागर भएको छ, हाम्रा सीमास्तम्भहरू अतिक्रमित भएका छन्, सरकारले अब यो विषयलाई समाधानका लागि पहल गरिरहेको छ’ भन्ने उनको तर्क थियो ।

सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुकमा बलात्कार, हत्या, हिंसा, असुरक्षा र दण्डहीनताका कारण जनतामा निराशा बढ्दै गएको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए भने काङ्ग्रेस पार्टीलाई व्यक्तिमुखीभन्दा संस्थामुखी बनाउन नेतृत्वसँग आग्रहसमेत उनले गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चाहिँ अहिले महङ्गी, भ्रष्टाचार, सुुशासनको कुरा भन्दा पनि राष्ट्रियता मुख्य भएकाले त्यसतर्फ केन्द्रित हुन आह्वान गरेका थिए ।