क्यालिफोर्नियाका डढेलोपीडितलाई ‘पिजि एण्ड इ’ले १४ अर्ब डलर भुक्तानी गर्ने

क्यालिफोर्नियाका डढेलोपीडितलाई ‘पिजि एण्ड इ’ले १४ अर्ब डलर भुक्तानी गर्ने


संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्निया राज्यको प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक (पिजि एण्ड इ) कम्पनीले वन डढेलोका पीडितलाई १३ अर्ब ५० करोड अमेरिकी डलर भुक्तानी गर्ने भएको छ । गत वर्ष भएको वन डढेलोको घटनाबाट उत्तरी क्यालिफोर्नियामा दर्जनौँ व्यक्तिको मृत्यु हुनुका साथै दशौँ हजार घर ध्वस्त भएका थिए ।

उत्तरी क्यालिफोर्नियामा ‘क्याम्प फायर’ नाम दिइएको उक्त डढेलो पिजि एण्ड इ कम्पनीले निर्माण गरेको विद्युतीय प्रशारण लाइनमा आएको गडबडीले भएको आरोप छ । प्रशारण लाइनबाट निस्किएका आगोका झिल्काकै कारण जंगलमा आगो सल्किएको अनुसन्धानबाट खुलेको थियो । अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक मानिएको उक्त डढेलोबाट ८६ जनाको जलेर मृत्यु भएको थियो ।

अमेरिकी अखबार वासिङ्टन पोष्टका अनुसार पिजि एण्ड इ कम्पनीले भुक्तानी गर्नुपर्ने रकमका बारेमा संघीय न्यायाधीशले फेरि सुनुवाई गर्नुपर्ने छ । पीडितको प्रतिनिधित्व गर्ने सान फ्रान्सिस्कोको बेकर होस्टेट्लरका वकील रोबर्ट जुलियानले पीडितको पक्षमा भएको फैसलाबाट आफूहरु उत्साहित भएको बताएका एएनआईले जनाएको छ ।

वन डढेलाका पीडितहरू आफ्ना घर, व्यवसाय र आफन्त गुमाएर ठूलो चोटमा परेको बेकरको भनाई थियो । पछिल्लो निर्णयबाट पीडितहरूलाई थोरै भए पनि राहत मिल्ने बताइएको छ । पीडितका तर्फबाट अदालतमा दायर गरिएको मुद्दामा पिजि एण्ड इ.का उपकरणहरुकै कारण जंगलमा आगलागी भएको र व्यापक विनाश भएको आरोप लगाइएको छ ।