सरकारविरुद्ध राजधानीमा काङ्ग्रेसको धर्ना

सरकारविरुद्ध राजधानीमा काङ्ग्रेसको धर्ना


काठमाडौं कांग्रेस क्षेत्र नं. ८ र प्रदेश समिति ‘क’ र ‘ख’को संयुक्त आयोजनामा शनिबार (२१ मंसिर) राजधानीको वसन्तपुरमा वृहत ध्यानाकर्षणसहितको धर्ना कार्यक्रम सम्पन्न गरिएको छ ।

बढ्दो भष्टाचार, चरम वेथिति, दण्डहीनताको अवस्था, अराजकता, महँगी, भूमि अतिक्रमण, खतर्नाक गुठी विधेयकको विरोधका साथै सम्पदाहरूको पुनर्निर्माण अनि शान्तिसुरक्षाको माग गर्दै आयोजना गरिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले कम्युनिष्ट सरकारको दबदबासँगै मुलुकमा यत्रतत्र अराजकता मौलाएको बताए ।

नेता जोशीले वर्तमान सरकार नेपाली जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँदै शक्तिको उन्मादमा सरकारले जनतामाथि यो वा त्यो नाममा दमन गर्दै संविधानप्रदत्त हक–अधिकार च्यूत गर्ने प्रपञ्चमा लागिपरेको औंल्याए । उनले आज काठमाडौं कांग्रेस क्षेत्र नं. ८ बाट शुरु भएको सरकारविरुद्धको जनआवाज अब देशैभर फिँजिने र फेरि एकपटक नेपाली जनताले अराजकता र चरम बेथितिविरुद्ध आवाज बुलन्द गर्ने विश्वास पनि व्यक्त गरे ।

धर्ना कार्यक्रममा काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँ, महिला संघ काठमाडौकी नेतृलगायतका वक्ताले दुई तिहाइको दम्भमा सरकारले नेपाली जनतामाथि गर्दै आएको दमनविरुद्ध आवाज बुलन्द गर्नुको विकल्प नभएको बताए ।

काठमाडौं कांग्रेस क्षेत्र नं. ८ का सभापति राजेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश समितिका सभापतिद्वय राज्यलक्ष्मी श्रेष्ठ, देवरत्न डंगोल, जिल्ला समितिका पदाधिकारीहरू, क्षेत्रीय समितिका पदाधिकारीलगायत पार्टीका विभिन्न तह र तप्काको जिम्मेवारीमा रहेका नेता–कार्यकर्तासँगै उल्लेख्य जनसहभागिता रहेको थियो ।