‘साग’ पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स पराजित

‘साग’ पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स पराजित


१३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपाल–माल्दिभ्स खेलमा नेपाल विजयी बनेको छ । दशरथ रङ्गशालामा शनिबार (२१ मंसिर) भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको हो ।

यो जीतसँगै नेपाल तीन खेलमा सात अङ्क जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ भने माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना अब समाप्त भएको छ ।

चार खेल खेलेको माल्दिभ्स दुई अङ्क जोड्दै लिग तालिकाको अन्तिम स्थानमा छ । खेलमा शुरुआती अग्रता भने माल्दिभ्सले लिएको थियो ।

शनिबारको खेलको १८औँ मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १–० को अग्रता दिलाए । खेलको ४३औँ मिनेटमा नेपालका अभिषेक रिजालले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पेनाल्टी क्षेत्रको ठीक बाहिर आएको बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

त्यसपछि खेलको ५२औँ मिनेटमा नेपालले विजयी गोल गऱ्यो । सुनिल बलको कर्नरमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई २–१ को जित दिलाए ।

pict:rss