वर्तमान सरकार देशभक्तहरूको भएको दाबी

वर्तमान सरकार देशभक्तहरूको भएको दाबी


वर्तमान सरकार देशभक्तहरूको भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दाबी गरेका छन् । वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’हरूको नभएको उनको जिकिर छ ।

एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौबासमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई शुक्रबार (२० मंसिसर) सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले वर्तमान सरकार देशभक्त, न्यायप्रेमी जनताको सरकार भएको बताए ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा अघि बढ्न राष्ट्रिय सहमति प्राप्त भइसकेकाले कूटनीतिक र राजनीतिक प्रयासलाई पहिलो प्राथमिकतामा राखिने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले भने– ‘हामी कसैको एक इञ्च पनि जमीन मिच्न जाँदैनौँ, हाम्रो धर्तीको जमीन पनि कसैलाई दिँदैनौँ, बुझाउँदैनौँ, यो सरकार देशभक्त र न्यायप्रेमी जनताको सरकार हो । नेपालीलाई कसैले अपमान र धक्का पुग्ने काम गर्छ भने सहने छैनौँ ।’

सुस्ताको विषय पनि बाँकी रहेकाले सरकारले क्रमैसँग कूटनीतिक र राजनीतिक प्रयास जारी राख्ने उनले बताए । ‘सुस्ताको विषय पनि बाँकी नै छ, यी समस्या समाधान गर्न समय लाग्छ’ भन्दै उनले जनताको चिन्ता र चासोप्रति सरकारको एक्यबद्धता रहेको उल्लेख गरे ।