‘काङ्ग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प काङ्ग्रेस’

‘काङ्ग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प काङ्ग्रेस’


■ विनोद नेपाल

विभिन्न कारणले रिक्त हुन गएका प्रतिनिधिसभाको एक, प्रदेश सभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ गरी कुल ५२ स्थानका लागि मङ्सिर १४ गते भएको निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ । ५२ स्थानकै परिणाम सार्वजनिक भएसँगै परिणामको समीक्षा तथा यस निर्वाचनले गरेको सङ्केत र निर्वाचन परिणामले दिएको सन्देशका विषयमा चर्चा–परिचर्चा भइरहेका छन् ।

रिक्त स्थानमध्ये नेकपाका उम्मेदवारले ३०, काङ्ग्रेसका उम्मेदवारले १३, समाजवादी पार्टीका उम्मेदवार ४, राजपा उम्मेदवार ३, राष्ट्रिय जनमोर्चाका उम्मेदवार १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भए । नेकपाले प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र २४ वडा अध्यक्ष जितेको छ । प्रतिनिधिसभाका लागि कास्की क्षेत्र नं. २ मा निर्वाचन भएको थियो । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका रवीन्द्र अधिकारीको मृत्युका कारण रिक्त भएको उक्त स्थानमा उनैकी पत्नी विद्या भट्टराईले चुनाव जितेकी छिन् । प्रदेश सभातर्फ दाङ क्षेत्र नं. ३ (ख)मा नेकपाका उम्मेदवार विमलाकुमारी खत्री वलीले विजय हासिल गरिन्, जो आफ्ना पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भई रिक्त भएको स्थानमा उम्मेदवार बनेकी थिइन् ।

काङ्ग्रेसले प्रदेश सभा सदस्य १, उपमहानगरपालिकाको प्रमुख १ र विभिन्न पालिकाका ११ वडा अध्यक्षमा जित हात पारेको छ । प्रदेश सभाअन्तर्गत भक्तपुर १(क) मा काङ्ग्रेस उम्मेदवारले विजय हालिस गरेका हुन् । यसअघि सो क्षेत्रबाट नेकपाका उम्मेदवार विजयी भएका थिए । यस्तै धरान उपमहानगरपालिका प्रमुखमा काङ्ग्रेसका उम्मेदवार २६ हजार ७ सय ९ मत प्राप्त गरेर विजयी भए । उनले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् । धरानमा काङ्ग्रेसले नगर प्रमुख जितेको यो पहिलोपटक हो । प्रदेश सभाअन्तर्गत बाग्लुङ २ (ख)मा नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवारले विजय प्राप्त गरे भने समाजवादी पार्टीले ४ र राजपाले ३ वडा अध्यक्षमा जित हासिल गरेका छन् । प्युठानको एरावती गाउँपालिका २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला, अनि भरतपुर महानगरपालिका, जहाँ विभिन्न षड्यन्त्र गरी निर्वाचित आफ्नै छोरी नगरप्रमुख छन्, त्यहाँ नै नयाँ स्थानमा विजय प्राप्त गर्नुपर्नेमा भएको स्थानसमेत गुमाउने अवस्था नेकपा र विशेषगरी प्रचण्डका लागि लागि दुःखद हो ।

निर्वाचन परिणामसँगै दलहरूबाट र विभिन्न क्षेत्रबाट परिणामको विश्लेषण भइरहेको छ । दलहरूतर्फ जाँदा नेकपाका नेताहरूले हाल थप भएका स्थान र आफूले जोगाइराख्न सकेका स्थानहरूको हकमा फरक–फरक धारणा व्यक्त गरेका छन् । सफलताको लागि सरकारदेखि स्थानीय तहसम्मबाट भएका राम्रा कामलाई जश दिइएको छ भने पराजयका लागि आन्तरिक द्वन्द्व र विभाजन एवम् उम्मेदवार चयनमा भएको कमजोरीलाई जिम्मेवार ठहराइएको छ । काङ्ग्रेसले चाहिँ मतदाताको झुकाव आफ्नो पार्टीप्रति बढेको महसुस गरेको बुझिन्छ । उसले खासगरी भक्तपुर प्रदेश सभाको एक स्थान, भरतपुर महानगरपालिकाको एक वडाध्यक्ष तथा धरान उपमहानगरपालिकाको प्रमुखमा हासिल भएको विजयलाई ठूलो उपलब्धिकै रूपमा लिएको महसूस हुन्छ । गुमेका स्थान गुम्नुको कारणबारे समीक्षा हुने भन्दै काङ्ग्रेसले सत्तारुढ दलका आचारसंहिताविपरीतका क्रियाकलापका बाबजुद जनमत आफ्नो पक्षमा देखिएको विश्लेषण पनि गरेको छ ।

सम्पन्न उपनिर्वाचनमा नेकपाले यसअघिको स्थानीय निर्वाचनमा जितेका पाँच वडामा पराजय भोगेको छ भने झन्डै तीन दशकदेखि वामपन्थी पकड रहँदै आएको धरान उपमहानगरपालिकामा पराजय भोगेको छ । भक्तपुरको प्रदेश सभाको स्थान गुमाउनु पनि नेकपाको लागि क्षति नै हो । सङ्ख्यात्मक हिसाबले नेकपाले नै धेरै स्थानमा विजय हासिल गरेको छ । तर, चितवनजस्तो जिल्ला, जुन नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला, अनि भरतपुर महानगरपालिका, जहाँ विभिन्न षड्यन्त्र गरी निर्वाचित आफ्नै छोरी नगरप्रमुख छन्, त्यहाँ नै नयाँ स्थानमा विजय प्राप्त गर्नुपर्नेमा भएको स्थानसमेत गुमाउने अवस्था नेकपा र विशेषगरी प्रचण्डका लागि लागि दुःखद हो ।

यस्तै, धरानजस्तो वामकिल्लाको रूपमा रहँदै आएको स्थानमा नगरपालिका प्रमुखको पद गुम्नु नेकपाको लागि ठूलै धक्का हो । यिनको मूल्य कुनै दुर्गम जिल्लाको गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष वा वडाध्यक्षको भन्दा ठूलो हुन्छ । यसैले यसलाई एकप्रकारले भन्नुपर्दा यो, तुलनात्मक रूपमा सचेत नागरिक रहने नगर क्षेत्रमा नेकपाको खस्कँदो लोकप्रियताको सङ्केत हो । अर्को कुरा नेकपाले आफ्ना दिवंगत प्रतिनिधिको स्थानमा उठाएका दुई महिला उम्मेदवारले सहानुभूतिका कारण नै पनि विजय प्राप्त गरेको अवस्था हो । तिनमा पनि विगतमा भन्दा नेकपाले प्राप्त गरेको मत कम नै छ । यसैले नेकपाले आफ्नो लोकप्रियता खस्केको रूपमा नै बुझ्दा हुन्छ ।

केही बढी मत ल्याउँदैमा जनमत फेरिन लागेको रूपमा बुझ्नुहुँदैन । काङ्ग्रेसप्रति सहानुभूति जाग्नुपर्ने र उसलाई मतदान गर्नुपर्ने गरी आशा जगाउने कुनचाहिँ काम काङ्ग्रेसले गरेको छ र अहिलेसम्म ?

प्रमुख प्रतिपक्षी काङ्ग्रेसको हकमा पनि, काङ्ग्रेसले धेरै हौसिनुपर्ने आवश्यकता देखिँदैन । केही मत बढे पनि त्यो काङ्ग्रेसको साङ्गठनिक सुदृढीकरण वा कुनै सार्थक प्रयासले भएको होइन काकताली मात्रै हो । प्रमुख शहरी क्षेत्रमा नेकपाको घटेको जनमत काङ्ग्रेसका लागि सकारात्मक सन्देश हुन सक्छ, तर यसकै आधारमा नेपाली काङ्ग्रेसले भनेजस्तै नेकपाले ‘सच्चिने कि सक्किने’ भन्ने चिन्ता लिइहाल्नुपर्ने र काङ्ग्रेसले दिग्विजय हासिल गर्ने सम्भावना भने छँदै छैन । भक्तपुर, धरान र भरतपुरको विजयले सिङ्गो देशको प्रतिनिधित्व गर्दैन ।

काङ्ग्रेस प्रवक्ताद्वारा जारी विज्ञप्ति हेर्दा काङ्ग्रेसले निकै राम्रो उपलब्धि हासिल गर्न सफल भएको र नेकपा पराजित भएको भन्नेजस्तो आभास हुन्छ । तर, यथार्थ त्यस्तो होइन । केही बढी मत ल्याउँदैमा जनमत फेरिन लागेको रूपमा बुझ्नुहुँदैन । काङ्ग्रेसप्रति सहानुभूति जाग्नुपर्ने र उसलाई मतदान गर्नुपर्ने गरी आशा जगाउने कुनचाहिँ काम काङ्ग्रेसले गरेको छ र अहिलेसम्म ? निश्चय नै सामान्य सकारात्मकता देखिए पनि यसले सबैको प्रतिनिधित्व गर्दैन । काङ्ग्रेसलाई योग्य उम्मेदवार चयन गरेमा र एक भई अगाडि बढेमा चुनाव जित्न सकिन्छ भन्ने सन्देशचाहिँ यसले अवश्य दिएको छ । यसैले जनमत फेरिएको भ्रममा पर्नु काङ्ग्रेसका लागि घातक हुन सक्छ । काङ्ग्रेस नेतृत्व यसप्रति सजग हुँदा वेश हुनेछ ।

समग्रमा, सम्पन्न निर्वाचनमा सबै स्थान एउटै दलले प्राप्त गरेको भए पनि त्यसले खासै कुनै असर पार्ने अवस्था थिएन । त्यसमा पनि लगभग उस्तै उस्तै परिणाम आयो । गुमाएका र नयाँ जितेका हिसाबले सङ्ख्यात्मक दृष्टिमा कतै कुनै ठूलो भिन्नता वा असर नपरेको र यो हारजितले प्रमुख दलहरूलाई जिम्मेवार ढङ्गमा अघि बढ्नुपर्ने सन्देशचाहिँ राम्ररी नै दिएको ठान्न सकिन्छ । यसलाई सत्तारुढ दलसँग पूर्ण सन्तुष्ट नरहेको र प्रतिपक्षीसँग पनि धेरै आशावादी हुन नसकेको सङ्केतको रूपमा पनि लिन सकिन्छ ।

सम्पन्न उपनिर्वाचनले नेपाल कम्युनिस्ट पार्टीलाई मतदाताको मनोविज्ञान बिस्तारै परिवर्तन हुन खोजेको सङ्केत गर्दै सजग रहन तथा काङ्ग्रेसलाई अझ बढी सक्रिय हुन र एकताबद्ध हुँदै स्पष्ट नीतिका साथ सही मुद्दामा उचित भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ । साना र नयाँ दलहरूको हकमा उनीहरूले जनतासम्म आफ्नो प्रभाव पु¥याउन ठूलै मिहिनेत गर्नुपर्ने आवश्यकता रहेको र अर्को शब्दमा भन्नुपर्दा जनताबीच पुग्ने नसकेको तथा काङ्ग्रेसको विकल्पका रूपमा नेकपा र नेकपाको विकल्पमा काङ्ग्रेस नै हो भन्ने पनि प्रस्ट पारेको छ ।