वन्यजन्तुको क्षति रोक्न पर्खाल

वन्यजन्तुको क्षति रोक्न पर्खाल


■ दयाराम आचार्य, परासी

वन्यजन्तुको क्षति रोक्नका लागि कावासोती नगरपालिकाले लगानी बढाएको छ । सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुऱ्याउन थालेपछि नवलपरासी पूर्वनवलपुरको सो नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि विशेष पहल थालेको हो ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र प्रभावित नगरपालिकाका सात वडाको झण्डै २० किलोमिटर क्षेत्रफलमा पर्खालसहितको मेसजाली लगाउने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ । सोहीअनुरुप अहिले पर्खालसहितको जाली लगाउने कामसमेत चलिरहेको छ । सधैँजसो बस्तीमा आउने वन्यजन्तुले नगरपालिकाअन्तर्गत पर्ने स्थानीय बासिन्दाका बालीनालीमा क्षति पुऱ्याउने, मान्छेलाई समेत आक्रमण गर्ने घटना हुने गरेका कारण सो रोक्नका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्य गरिरहेको नगर प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा मात्रै सात वडामा वन्यजन्तुको क्षति न्यूनीकरणका लागि रु सात करोड विनियोजन गरेको छ । सोही रकममध्येबाट हाल पाँच करोड ५० लाख बराबरको काम सञ्चालन भइरहेको नगर प्रमुख पुनले बताउनुभयो । तीन फिट अग्लो पर्खाल र पर्खालमाथि थप तीन फिट जाली लगाउने काम अहिले वन्यजन्तु प्रभावित क्षेत्रमा भइरहेको छ । नगरपालिकाअन्तर्गत मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा ७, १०, ११, १२, १३, १५ र १७ वन्यजन्तुका कारण प्रभावित रहेका छन् । यहाँका बासिन्दाले लगाएको बालीमात्र नभई आफ्नै ज्यानसमेत जोखिममा रहेको गुनासो गर्दै आएका कारण नगरपालिकाले विशेष पहल गरी वन्यजन्तुको क्षति रोक्न लागिपरेको नगर प्रमुख पुनले बताउनुभयो ।

गत वर्ष नगरपालिकाकै लागतमा झण्डै दुई किलोमिटर क्षेत्रफलमा पर्खालसहितको मेस जाली लगाउने काम सम्पन्न भएको छ । विगतका वर्षमा समेत नगरपालिकाले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि बजेट विनियोजन गरी पर्खालसहितको मेसजाली राख्ने काम गरेको थियो । चालू आर्थिक वर्षमा भने नगरपालिकाले बजेट मात्र बढाएर काम गरिरहेको छ । अहिले करिव सात किलोमिटरको क्षेत्रफलमा पर्खालसहितको मेस जाली निर्माण गर्ने काम सकिने नगर प्रमुख पुनले बताउनुभयो ।

यस क्षेत्रमा मध्यवर्ती क्षेत्र र डिभिजन वनलेसमेत झण्डै पाँच किलोमिटर क्षेत्रमा पर्खाल सहितको मेस जाली निर्माण गरेका छन् । चालू आर्थिक वर्षसम्ममा करीब १४ किलोमिटर क्षेत्रफलमा पर्खाल बनाउने काम सकिने नगर उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारुले बताउनुभयो । अब नगरपालिकाअन्तर्गत वन्यजन्तु प्रभावित क्षेत्रमा करिव ६ किलोमिटर क्षेत्रमा पर्खाल लगाउने काम बाँकी रहने उहाँले बताउनुभयो । बाँकी रहेको क्षेत्रमा पनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी पर्खाल लगाउने काम गरिने उहाँले बताउनुभयो ।

यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतारसहित विद्युत् अर्थिङ लगाइएकामा त्यसलाई समेत नाँघेर, चुँडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पर्खालसहितको मेस जाली निर्माण थालिएको उहाँले जानकारी दिनुभयो । सोको निर्माणपछि वन्यजन्तु बस्ती प्रवेश गर्न नसक्ने र मध्यवर्ती क्षेत्रका बासिन्दालाई राहत मिल्ने उपप्रमुख मर्दनिया थारुले बताउनुभयो । यस क्षेत्रमा निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रमा अन्नबाली, चौपाया र मानिसमा समेत क्षति पु¥याउँदै आएका छन् ।

rss