फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै भुटान शीर्ष स्थानमा

फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै भुटान शीर्ष स्थानमा


१३औँ दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा भुटानको उत्कृष्ट प्रदर्शन गरेको छ । भुटानले बिहीबार (१९ मंसिर) दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई २–१ ले हरायो ।

भुटानले फुटबलको कुनै पनि स्तरमा माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो । यो जितले पाँच टिम सम्मिलित प्रतियोगिताको अंक तालिकामा भुटान शीर्ष स्थानमा उक्लेको छ ।

भुटानको तीन खेलबाट ६ अंक भएको छ । माल्दिभ्स भने समान तीन खेलबाट दुई अंकमा सीमित रह्यो । माल्दिभ्सले आप्mनो शुभारम्भका दुवै खेल बराबरी खेलेको थियो । यो नतिजाले भुटानको फाइनल प्रवेशको सम्भावना बलियो भएको छ । स्वर्णको बलियो दावेदार मानिएको माल्दिभ्सलाई अब त्यो सम्भावना कायम राख्न निकै कठिन भएको छ ।

दशरथ रंगशालामा भएको यू–२३ फुटबलमा भुटानले गोलरहित बराबरीपछि दोस्रो हाफमा दुई गोल गरेको थियो । उसका लागि ५५औं मिनेटमा छिमी दोर्जेले पहिलो गोल गरे । यस्तै ८४ औं मिनेटमा फुब थिन्लले दोस्रो गोल गरे । खेलको अन्त्यतिर माल्दिभ्सका लागि हाम्जा माहेमदले सान्त्वना गोल फर्काए र यसले खेलमा कुनै फरक पारेन् ।

जितमा भुटानी प्रशिक्षक पेमाले खुसी व्यक्त गरे र यो जितलाई ऐतिहासिक माने । उनले भने, ‘यो जितमा हामी कति खुसी छौँ भनेर भन्न नै सकिरहेका छैनौँ । हामी आज जितका लागि पूर्ण हकदार थियौँ ।’

बिहीबार नै भएको दोस्रो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हरायो । बंगलादेशका लागि महबबुर रहमानले दसौं मिनेटमा गोल गरेका थिए । अन्त्यमा त्यो गोल नै निर्णायक गोल बन्न पुग्यो ।

यो जितले बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र उसले फाइनल पुग्ने आप्mनो सम्भावनालाई जीवितै राखेको छ । बंगलादेश यो जितले अंक तालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल रह्यो । श्रीलंका भने दुई अंकमै सीमित छ । आयोजक नेपालको चार अंक सहित दोस्रो स्थानमा छ ।