भारोत्तोलनमा स्वर्ण पदक जित्दै सञ्जुले रचिन् इतिहास

भारोत्तोलनमा स्वर्ण पदक जित्दै सञ्जुले रचिन् इतिहास


नेपालकी सञ्जु चौधरीले १३औँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् । महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

माटेपानीस्थित एसआर केसी बैंक्युटमा मंसिर १९ गते बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन् ।

प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितिन् । चार देशले भाग लिएकोे विधामा पाकिस्तानको पनि सहभागिता थियो ।

गत वर्ष नेपाल पुलिसमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन् । उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको प्रतिक्रिया दिइन् ।

साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिला तर्फ सहभागिता जनाएको हो । १० औं संस्करणका सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ ।

त्यस्तै, मंसिर १९ गते विहिवार भएको खेलमा नेपालकी संगीता राईले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।