प्रधानमन्त्रीलाई डिस्चार्जको तयारी

प्रधानमन्त्रीलाई डिस्चार्जको तयारी


मंसिर १० गते शुक्रबार एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्जको तयारी थालिएको छ ।

एपेन्डिक्स फुटेर पेटमा संक्रमण भएपछि महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रियापश्चात् उपचार गराइरहेका प्रधानमन्त्री ओलीको (आज) बिहीबार साँझदेखि शुक्रबार बिहानसम्ममा डिस्चार्ज हुने अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । तर, रगतलगायत विभिन्न परीक्षणको पछिल्लो रिपोर्ट आउन बाँकी रहेकोले रिपोर्ट हेरेर ओलीलाई आज साँझ वा भोलिसम्म डिस्चार्ज गरिने भएको हो ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूको बिहीबार बिहानको बैठकले पछिल्लो रिपोर्ट हेरेर उहाँको स्वास्थ्यमा अहिलेजस्तै सुधार भइरहे आजै (बिहीबार) साँझसम्म डिस्चार्ज दिने तयारी गरेको हो ।