पर्वतमा सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै

पर्वतमा सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै


पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थाबाट उनीहरूले सो सेवा लिएका हुन् ।

जनस्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने संख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिए । गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन थालेको भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले परिवार नियोजनका साधन प्रयोग गर्नुभन्दा गर्भपतन गर्न सजिलो मान्ने गरेको भन्दै यसले समस्या निम्तिने खतरा रहेको बताए । डा. देवकोटाका अनुसार परिवार नियोजनका अस्थायी साधनको प्रयोगको अवस्था निकै न्यून रहेको छ । पर्वतमा अस्थायी साधनको प्रयोगदर ३१ प्रतिशत रहेको छ जब कि राष्ट्रियस्तरमा परिवार नियोजनको साधान प्रयोगदर ४२ दशमलव ७ प्रतिशत छ ।

धेरैपटक गर्भपतन गर्दा पाठेघर कमजोर हुने, गर्भ राख्न चाहँदा पनि गर्भपतन हुने र भविष्यमा बाँझोपनसमेत हुने खतरा

अस्थायी परिवार नियोजनका साधन कण्डम, पिल्स, इनप्लान्ट, संगिनी सुईको सर्वसुलभ व्यवस्था भए पनि प्रयोगकर्ताले झन्झट मान्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । कुश्मा नगरपालिकामा सबैभन्दा बढी ४९४ महिलाले गत वर्ष गर्भपतन गरेका छन् । फलेवासमा १२२, पैयुँमा १२५, विहादीमा ९८, महाशिलामा ३८ ले गत वर्ष गर्भपतन सेवा लिएका छन् ।

जलजला गाउँपालिकामा ६२ र मोदी गाउँपालिकामा ३३ ले गर्भपतन गराएको तथ्यांक छ । डा. देवकोटाले धेरैपटक गर्भपतन गराउँदा महिलामा शारीरिक समस्या देखिने बताए । उनले धेरैपटक गर्भपतन गर्दा पाठेघर कमजोर हुने, गर्भ राख्न चाहँदा पनि गर्भपतन हुने र भविष्यमा बाँझोपनसमेत हुने खतरा हुने बताए । महिलालाई सकेसम्म गर्भनिरोधक अस्थायी साधानको प्रयोग गर्न डा. देवकोटाको सुझाव छ ।
rss