प्रचण्डले वामदेवलाई प्रधानमन्त्री बनाइदिने !

प्रचण्डले वामदेवलाई प्रधानमन्त्री बनाइदिने !


कार्यकारी अध्यक्षको पदवी पाएपछि सत्तारुढ नेकपाका नेता प्रचण्ड पार्टी र सरकारलाई आफ्नो नियन्त्रणमा लिने गुप्त गृहकार्यमा जुट्नुभएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । समाचारअनुसार प्रचण्ड यतिबेला नेकपा एमालेका केही नेताहरूलाई आफ्नो पक्षमा ल्याएर केपीविरुद्ध बलियो मोर्चा खडा गर्ने अभियानमा लाग्नुभएको छ ।

माधव नेपालप्रति सशङ्कित प्रचण्डले ‘एमाले’का नेताहरू वामदेव गौतम, भीम रावल, सुरेन्द्र पाण्डे र विष्णु पौडेललगायतलाई आफ्नो पक्षमा उभ्याउने कसरत शुरु गर्नुभएको छ । माधव नेपालमाथि भर पर्न नसकिने निष्कर्षमा पुग्नुभएका प्रचण्डले वामदेव गौतम, सुरेन्द्र पाण्डे, भीम रावल र विष्णु पौडेललाई मिलाएपछि आफ्नो मोर्चा बलियो बन्ने ठान्नुभएको छ । महासचिव विष्णु पौडेलले केपीको टिममा रहँदारहँदै पनि आफूलाई सहयोग पु¥याएकोले ईश्वर पोखरेललाई टिममा ल्याएर विष्णु पौडेललाई चिढ्याउने पक्षमा प्रचण्ड नरहनुभएको बुझिन्छ ।

वामदेव गौतम जतिबेला जसका विरुद्ध पनि प्रयोग–उपयोग हुन सक्ने भएकोले केपी ओली र आवश्यक परे माधव नेपालका विरुद्ध समेत प्रयोग गर्न प्रचण्डले उहाँलाई आफ्नो काबुमा लिइसक्नुभएको छ । वामदेवलाई पदीय प्रलोभन दिएर आफ्ना पक्षमा उभ्याउन सकिन्छ भन्ने राम्रोसँग बुझ्नुभएका प्रचण्डले गौतमलाई प्रधानमन्त्री बनाइदिने विश्वास मङ्सिर नलाग्दै दिलाउनुभएको थियो ।

आगामी फागुनको पहिलो साता राष्ट्रिय सभाका डेढ दर्जनभन्दा बढी सदस्यहरूको पद रिक्त हुँदै छ । प्रचण्डले वामदेवलाई राष्ट्रिय सभा सदस्य चयन गरी संविधान संशोधन गरेर प्रधानमन्त्री बनाइदिने वचन दिनुभएको छ । मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिने सचिवालय बैठकमै (मङ्सिर १ गते) प्रचण्डले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने र संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउन सकिने किसिमले संविधान संशोधन गर्ने प्रस्ताव राख्नुभएको थियो । प्रचण्डले यस्तो प्रस्ताव ल्याउनुको रहस्य बुझेर पनि केपी ओलीले उक्त प्रस्तावमा असहमति जनाउनुभएको थिएन ।

‘माओवादी’ले ‘एमाले’ खाने कि ‘एमाले’ले ‘माओवादी’ खाने भन्ने यो खेल अन्त्यमा ‘माओवादीले ‘एमाले’ खाएर सकिने हो कि भन्ने सङ्केत देखिन थालेका छन् ।

वामदेवलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्न वामदेवपत्नी तुलसाबाहेक कुनै पनि सांसद तयार हुँदैनन् भन्ने जानकारी प्रचण्डलाई नभएको होइन । तर, यसो गर्दा वामदेव केपीबाट धेरै टाढा तथा आफूसँग निकट बन्ने विश्वासका साथ प्रचण्डले यस्तो खेल शुरु गर्नुभएको हो र यो खेलमा उहाँले एकस्तरको सफलता पनि पाइसक्नुभएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाभ गर्नुभएपछि प्रचण्डबाट वामदेवलाई राष्ट्रिय सभामा लैजाने र संविधान संशोधन गरी उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पार्टी बैठकमा विधिवत् राखेर निर्णय गराउन प्रयास हुने प्रबल सम्भावना छ । ज्ञातव्य छ, विद्यमान संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाका सदस्य मात्र देशको प्रधानमन्त्री बन्न सक्नेछन् । राष्ट्रिय सभा सदस्यलाई मन्त्री बन्न बन्देज नभए पनि प्रधानमन्त्री बन्न सक्ने संवैधानिक प्रावधान छैन ।

पाँचबुँदे निर्णय (सहमति) अनुसार प्रचण्डले अध्यक्ष केपी ओलीसँगको सहमतिमा मात्र कुनै पनि कदम चाल्न सक्नुहुनेछ । तर, प्रचण्ड केपीको सहमतिबिना नै कार्यकारी अध्यक्षको अभ्यास गर्ने मानसिकता र योजनामा रहनुभएको बुझिन्छ । ओली स्वस्थ हुनुभएपछि ओलीलाई रक्षात्मक बनाउँदै आक्रामक ढङ्गले अघि बढ्ने र आफ्नो स्थिति मजबुत बनाउने प्रचण्डको सोचबारे सम्भवतः केपी ओली अहिलेसम्म अनभिज्ञ हुनुहुन्छ । अहिले केपीको स्वास्थ्यस्थिति कमजोर हुँदै गएको हल्ला प्रचण्डकै क्याम्पबाट चलाइने गरिएको छ र, यस्तो हल्ला चलेसँगै पार्टीका कैयन नेताहरूको प्रचण्डकहाँ लुकिछिपी धाउने क्रम बढेको छ ।

केपीको स्वास्थ्यमा सुधार हुन सकेन भने आफू स्वतः नेकपाको हर्ताकर्ता बन्ने विश्वासमा रहनुभएका प्रचण्ड आफूकहाँ कर्मचारी र नेताहरूको ताँती लाग्न थालेपछि झनै ढुक्क हुनुभएको छ । केपी स्वस्थ भएर काममा फर्कनुभए पनि अब उहाँलाई शान्तसँग काम गर्न दिने मानसिकतामा प्रचण्ड नरहनुभएकोले केपीका निम्ति आगामी दिनहरू सहज देखिएका छैनन् । ‘माओवादी’ले ‘एमाले’ खाने कि ‘एमाले’ले ‘माओवादी’ खाने भन्ने यो खेल अन्त्यमा ‘माओवादीले ‘एमाले’ खाएर सकिने हो कि भन्ने सङ्केत देखिन थालेका छन् । तर, केपीको स्वास्थ्यस्थितिमा भएको सुधारले गति लियो र काममा सक्रिय हुन थाल्नुभयो भने प्रचण्डले ‘पानी पिउनुपर्ने’ अवस्था बन्नेमा शङ्का गर्नुपर्ने छैन ।