‘फेन्सिङमा दुई चारवटा स्वर्ण जित्छौँ’ : श्रेष्ठ

‘फेन्सिङमा दुई चारवटा स्वर्ण जित्छौँ’ : श्रेष्ठ


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा फेन्सिङ खेल मंसिर २० गते शुक्रबारदेखि सञ्चालन हुँदैछ । साग खेलमा फेन्सिङमा नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्दैछ ।

१२ स्वर्ण पदकका लागि हुने भीडन्तमा नेपालका २४ खेलाडीले सहभागिता जनाउने छन् । जसमा १२ पुरुष र १२ महिला रहेका छन् ।

दक्षिण एसियामा फेन्सिङ खेलमा नेपाल कान्छो राष्ट्र भए पनि पछिल्लो समयमा नेपालले यो खेलमा गरेको प्रगतिका कारण १३औँ सागमा चार वटा स्वर्ण पदकको आशा गरिएको छ । यसको उदारहण गत महिना थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय फेन्सिङ प्रतियोगितामा नेपालले जितेको दुईवटा स्वर्णबाट पनि अनुमान लगाउन सकिन्छ ।

१३औँ सागमा फेन्सिङतर्फ नेपालको प्रदर्शन कस्तो रहला भन्ने प्रश्नमा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठले भने– ‘हामी कोही भन्दा कम छैनौँ ।’

अध्यक्ष श्रेष्ठले फेन्सिङमा भारत र श्रीलंका बलियो राष्ट्र भए पनि नेपाल पनि कम नभएको बताए । ‘पुरुष र महिला टोलीले निकै मेहनत गरेका छन्, दुई–चार वटा स्वर्ण अवश्य जित्छौँ’, श्रेष्ठले दाबी गरे । अँझ हाम्रो महिला टीम निकै उत्कृष्ट छ, महिलाहरुले स्वर्ण पदक दिलाउने पक्का छ ।

व्यक्तिगत रूपमा भन्नुपर्दा महिला एकलमा अनिता कार्कीबाट स्वर्ण पदकको आशा गरेका छौँ । उनको अन्तर्राष्ट्रिय अनुभव पनि राम्रो छ, अन्तर्राष्ट्रियस्तरमा स्वर्ण पदक जितेकोेले पनि अनिताले स्वर्ण पदक दिलाउने कुरामा श्रेष्ठले विश्वास प्रकट गरे ।

त्यस्तै, फेन्सिङ खेलाडी अनितासँग सम्पर्क गर्दा आफूले सतप्रतिसत प्रदर्शन गर्ने र राष्ट्रलाई स्वर्ण पदक दिलाउन कुनै कसर बाँकी नराख्ने बताइन् ।