फिलिपिन्समा कामुरी आँधी : ११ को मृत्यु, हजारौँ विस्थापित, ५२१ उडान रद्द

फिलिपिन्समा कामुरी आँधी : ११ को मृत्यु, हजारौँ विस्थापित, ५२१ उडान रद्द


फिलिपिन्समा आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीले बताएका छन् । गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयवासी विस्थापित भएका छन् ।

फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) का अनुसार स्थानीय समयानुसार बुधबार बिहान ४ बजे कामुरी आँधी दक्षिणपश्चिम समुद्रबाट २० किलोमिटर प्रतिघन्टाका दरले दक्षिण चीन सागरतर्फ सरेको छ ।

यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकुदको आयोजनामा पनि असर परेको छ । अधिकारीहरूले सो क्षेत्रबाट कैयौँ व्यक्तिलाई उद्धार गरी अन्यत्रै सारेका छन् ।

१२ घन्टाभित्र निनोय अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय २९ आन्तरिक उडान र १ सय ९२ अन्तर्राष्ट्रिय उडान बुधबार बिहान ११ बजेसम्म रद्द गरिएको छ ।
फिलिपिन्समा हरेक वर्ष शक्तिशाली आँधी आउने गर्दछ । यहाँ वर्षेनी साना ठूला गरी २० वटा जति आँधी आउने गरेका छन् । त्यसैले यस समयमा यहाँका सुरक्षा अधिकारीले पनि व्यापक तयारी गर्ने गरेका छन् ।

सन् २०१३ मा आएको हायान नामक आँधीका कारण कम्तीमा पनि सात हजार तीन सय नागरिकको मृत्यु भएको या हराएका थिए । यसबाट फिलिपिन्सको इतिहासमा नै निकै ठूलो भौतिक क्षति पुगेको थियो ।
रासस–एएफपी