युद्धबिराम उल्लङ्घन गर्दै यमनी हुथी समूहद्वारा वर्षदिनमा २१७ नागरिकको हत्या

युद्धबिराम उल्लङ्घन गर्दै यमनी हुथी समूहद्वारा वर्षदिनमा २१७ नागरिकको हत्या


यमनमा हुथी विद्रोहीले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धबिरामलाई उल्लङ्घन गर्दै एक वर्षमा २१७ सर्वसाधारणको हत्या गरेको यमनको सरकार पक्षधर सुरक्षाकर्मीले बताएको छ ।

यमनी सरकार पक्षधर सुरक्षाकर्मीको सञ्चार केन्द्र (जाइन्टस ब्रिगेड) ले दिएको तथ्याङ्कअनुसार यमनको बनदरगाह शहर होडेइडामा युद्धबिरामपछि २१७ सर्वसाधारणलाई झडपको नाममा विद्रोहीले हत्या गरेको र दुई हजार १५२ व्यक्ति विद्रोहीको आक्रमणबाट घाइते भएका छन् ।

राष्ट्रसंघको पहलमा स्टकहोममा युद्धबिराम गर्ने सहमति भएको थियो । केन्द्रले युद्धबिरामले हुथी विद्रोहीलाई आफ्ना आक्रमणलाई बढाउने मौका दिएको र सर्वसाधारणको सुरक्षामा अपेक्षाकृत प्रभाव नदेखिएको जनाएको छ । युद्धबिराम उल्लङ्घनका रिपोर्टपछि संयुक्त राष्ट्रसंघले होडेइडा क्षेत्रमा युद्धबिराम अनुगमनका लागि आफ्ना, सरकारी र विद्रोहीका प्रतिनिधिलाई त्यहाँ पठाएको छ । उनीहरूले दुवै पक्षका सेना बसेका स्थलहरूनजीकै पाँच केन्द्र राखी अनुगमन गरिरहेका छन् ।

यमनमा चार वर्षदेखि चल्दै आएको युद्धका कारण करिब १० हजार व्यक्तिले ज्यान गुमाएका छन् भने मानिसहरूले आफ्नो सामान्य जीवनअनुसार गतिविधि गर्न नपाउँदा दुई करोडभन्दा बढी नागरिकले शिविरको जीवन बाँच्नुपरेको छ । इरानको समर्थन पाएका हुथी विद्रोहीले होडेइडाका अधिकांश भागलाई आफ्नो नियन्त्रणमा राखेका छन् भने साउदी नेतृत्वको गठबन्धन सेनाको होडेइडाका दक्षिणपूर्वी जिल्लाहरूमा उपस्थिति रहेको छ ।

‘स्टकहोम युद्धबिराम सहमति’ यमनको युद्धबिराम अन्त्य गर्दै शान्त एवं सामान्य राजनीतिक जीवनमा फर्किनका लागि गरिएको पहिलो चरणको सहमति भएको सिन्ह्वाले जनाएको छ ।