गैरआवासीय नेपाली संघ बेलायतले भारतलाई भन्यो- ‘फर्केर जाऊ…’

गैरआवासीय नेपाली संघ बेलायतले भारतलाई भन्यो- ‘फर्केर जाऊ…’


■ प्रकाश केसी, लण्डन

गैरआवासीय नेपाली संघको बेलायत शाखाले संघको केन्द्रीय परिषदले जारी गरेको निर्देशनअनुसार लण्डनस्थित भारतीय हाइ कमिसनको कार्यालयअगाडि विरोध कार्यक्रम सम्पन्न गरेको छ । गणतन्त्रभन्दा अगाडि र पछाडि गरेर नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत स्थानमा करिव ६० हजार हेक्टरबराबरको भूभाग भारतले ओगटेको सन्दर्भमा नेपाल र नेपालबाहिरबाट दबाब सिर्जना गर्नको लागि आह्वान गरिएको लण्डनको विरोध कार्यक्रममा प्ले कार्डहरूमार्फत गैरआवासीय नेपाली संघ, बेलायतले भारतलाई नेपालको भूभाग वापस गर्न र असल छिमेकी भई आफ्नो छिमेकीलाई इज्जत दिनको लागि विरोधस्वरुपको आग्रह गरेको हो ।

महाकाली नदीलाई सिमाना बनाई तयार पारिएको सीमालाई भारतीय पक्षले कृतिम रुपको महाकालीको श्रोतसहितको अर्को उपनदी बनाएर त्यसलाई नै आधिकारिक महाकाली नदी मानी सोदेखि पारि अर्थात् मुख्य महाकाली नदीसम्मको भागलाई भारतको भनेको नै अहिलेको लिपुलेक, लिम्पियाधुरा र कालापानी विवाद मानिएको छ । नागरिक तहबाट भर्खरै सार्वजनिक गराइएको नेपालको नक्सामा पश्चिमको महाकालीभन्दा केही पर सानो चुच्चो परेको आकार अतिरिक्त रुपमा देखिएको छ, जुन अहिलेसम्म नेपालको नक्सामा देखिएको थिएन । विवाद सार्वजनिक भएपछि नेपालका कैयन ख्यातिप्राप्त तथा आधिकारिक व्यक्तिहरूद्वारा स्थलगत अवलोकनात्मक भ्रमण भइसकेका छन् र विभिन्न ज्ञाता तथा इतिहासविदहरूले सो भाग नेपालको भएको अनि भारतले जबर्जस्ती हडपेको भन्ने धारणा प्रकाशमा ल्याएका छन् ।

त्यस्तै गरी, स्थानीयवासीले आफूहरू नेपाली भएको र रातारात आफ्नो नाममा लालपुर्जा भएको जग्गा भारतीय भूभागमा पारिएका श्रव्य तथा दृश्य समाचारहरूमा देखिने तथा सुनिने गरेको आम भएको छ । तर वर्षौंदेखि विभिन्न पञ्चायती, प्रजातान्त्रिक अनि गणतान्त्रिक सरकारहरूले राज गरिसकेको नेपाल र विकास तथा सूचनाको प्रविधिले समयानुसार आधुनिक बनिसकेका नेपालीहरू कसैले पनि नेपालको आधिकारिक नक्सामा अहिले देखाइएको भूभाग नदेखिएको बारे किन प्रश्न गरेनन् ? स्थानीयवासीले पनि सोबारे किन जानकारी पाएनन् ? सुन्दा नै अनौठो लाग्ने त्यस्ता प्रमाणहरूको सतहीकरणमा नेपाललगायत संसारभरि बस्ने नेपालीहरूले खुलेर नेपालको विरोध गर्न थालेका छन् र यो एक प्रकारले वर्तमान नेपाली राजनीतिमा मुख्य मुद्दाको रुपमा उदाएको छ ।

नेपालले दोहोरो नागरिकताको अवस्थालाई कानूनी रुपमा नस्वीकारेको वर्तमान परिप्रेक्ष्यमा पनि अमेरिका, बेलायत, अष्ट्रेलिया, युरोपआदि देशमा स्थायी रुपमा सो मुलुकको नागरिकता लिई बसेका नेपाली मूलका नेपालीहरूले आ–आफ्नो स्थानबाट भारतीय एम्बेसी वा हाइ कमिसनहरूमा विरोध कार्यक्रम गरी विरोधपत्र बुझाई दबाब दिने कार्य सुचारु गरेका छन् । सोही क्रममा यही सोमबार (२ डिसेम्बर) गैरआवासीय नेपाली संघको बेलायत शाखाले विरोध कार्यक्रम आयोजना गरेको थियो । डेढ लाखजति नेपालीको बसोबास भएको बेलायतको गैरआवासीय नेपाली संघ, जो सबैभन्दा ठूलो च्याप्टरको रुपमा रहेको छ, (करिव १४ हजार पञ्जीकृत सदस्यहरू छन्) ले आयोजना गरेको आम नेपालीहरूको चासोको सन्दर्भमा पनि लगभग साढे तीन दर्जनजति मात्र मानिसको जमघट हुनु शर्मनाक मानिएको छ ।

नेपाली राजनीतिको अत्यधिक प्रभाव तथा प्रश्रय पाएको गैरआवासीय नेपाली संघको बेलायत शाखाले आम राजनीतिक चासोको मुख्य सन्दर्भमा पनि नेपालीहरू जम्मा गर्न नसक्नुलाई विविध नजरले हेरिएको छ । बेलायती नागरिक मात्र रहेका नेपाली मूलका व्यक्तित्वहरूबाट अन्य देशको झण्डा बोकी यहाँ भारतको हाइकमिसनअगाडि विरोध कार्यक्रम राख्नुमा कुनै तुक नभएको बताउनेहरूका विचार सामाजिक सञ्जालहरूमा सार्वजनिक भइसहेका छन् भने अर्कोतिर अघोषित रुपमा बेलायती नेपाली गैरआवासीय सदस्यहरूभित्रै फाटोहरू परेको बुझ्नेहरूको जमात पनि ठूलै रहेको मानिएको छ । डेढ लाख नेपाली भाषीहरूको प्रतिनिधित्व गर्ने संस्थाले नेपाली राजनीतिक पार्टीको भ्रातृसंस्थाको जस्तो कामहरू गरेको आरोप एकातिर लगाइएको छ भने अर्कोतिर भौगोलिक सिमानाको हक तथा कानूनी रुपमा विदेशी भए तापनि भावानात्मक रुपमा सबै नेपाली नै भएकोले नेपालको स्वाधीनतामाथि, नेपालको अस्तित्वमाथि भारतीय पक्षको हेपाहा नीतिको नैतिक रुपमा भए पनि विरोध गर्नु पर्ने कर्तव्यभित्र गैरआवासीय नेपाली संघ रहेकोले सोहीअनुरुप विरोध कार्य गरिएको भन्नेहरूको जमात पनि उल्लेखनीय नै रहेको छ । तथापि करीव डेढ घण्टाजति लण्डनस्थित भारतीय हाइ कमिसनको कार्यालय अगाडिको फुटपाथमा राखिएको उक्त विरोध कार्यक्रममा संस्थाकी नेतृ श्रीमती गुरुङले मन्तव्यसहित विरोध पत्रलाई पढेर सुनाएकी थिइन् तर सो पत्र उक्त हाइ कमिसनबाट कसैले बुझ्ने काम गरेनन्, जसलाई हुलाकबाट पठाउने भन्दै कार्यक्रम पूरा भएको थियो ।

गैरआवासीय नेपाली संघले आम नेपालीहरूको साझा चासोका विषयहरूउपर गर्ने सार्वजनिक कार्यक्रमहरूको तयारी राजनीतिक शैलीमा तथा संस्थाकै आफ्नो नितान्त कार्यक्रमको रुपमा गर्न बन्द नगरे बेलायतमा गैरआवासीय नेपाली संघको महत्व तथा महिमा नहराउनेमा कमै विश्वस्त होलान् ।