पोखरामा पनि आतिसवाजीसहित ‘साग’ शुभारम्भ

पोखरामा पनि आतिसवाजीसहित ‘साग’ शुभारम्भ


पर्यटकीय नगरी पोखरामा पनि दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आतिसबाजीसहित शुभारम्भ भएको छ । काठमाडौंमा भव्य समारोहकाबीच आइतबार उद्घाटन भएको भोलिपल्ट आठ वटा खेल हुने पोेखरामा पनि काठमाडौंकै जस्तो गरी आतिसबाजीसहित प्रतियोगिताको शुभारम्भ गरिएको हो ।

यतिबेला सात देशका खेलाडी एवं अफिसियललाई पोखरामा स्वागत गर्न पोखरा रंगशाला सिंगारिएको छ । उद्घाटनको अवसरमा मार्चपासमा सोनी गुरुङले नेपालको झण्डा बोकेकी थिइन् । उनी ट्रायथलनमा पोखराबाट पहिलो स्वर्ण पदक दिलाउने खेलाडी हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले खेलको शुभारम्भ गर्दै पोखरामा हुने सागलाई भव्य रुपमा सफल पार्न आग्रह गरे । उनले भने– ‘पोखरामा धेरै छिटो खेलकुदका भौतिक संरचना निर्माण भए, अब यसमा हाम्रा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्नेमा हामी विश्वस्त छौँ, पोखरामा हुने खेल भव्य रुपमा सम्पन्न गर्न सवै क्षेत्रको सहयोगको अपेक्षा गरेका छौँ ।’

पोखरामा सागका केही खेल हुनु पोखरा र प्रदेशकै गौरवको विषय भएको उनले बताए ।

युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले सागको अवसरमा पोखरामा धेरै खेलकुद पूर्वाधार निर्माण भएको जिकिर गरे भने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिल्वालले अघिल्लो कार्यसमितिले गर्न नसकेको बक्यौता १३औं साग आफ्नो कार्यकालमा सम्भाव भएको दाबी गरे ।

‘राखेप सदस्य राजेशकुमार गुरुङले छोटो समयका बाबजुद खेलकुदका धेरै भौतिक पुर्वाधार निर्माण भएको उल्लेख गर्दै यसमा केही गल्ती हुन सक्ने जनाए ।

उद्घाटनको अवसरमा विभिन्न जनजातिको संस्कृति झल्कने भेषभुषासहित ७ राष्ट्रका खेलाडीहरुले आफ्नो झण्डासहित मार्चमास गरेको १३औं साग डिपुटी सेफ दी मिसन तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्षसमेत रहेका तेजबहादुर गुरुङले बताए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरामा हुने १३औं सागलाई सफल पार्न सबैमा आग्रह गरे ।