एक्काइस नेपाली अधिकारीलाई भारतमा प्रशिक्षण सुरु

एक्काइस नेपाली अधिकारीलाई भारतमा प्रशिक्षण सुरु


नेपाल सरकारका एक्काइस अधिकारीहरूको तेस्रो समूहले भारतको फरिदाबादस्थित National Academy of Customs, Indirect taxes and Narcotics (NACIN) मा ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ बारे ६ दिवसीय प्रशिक्षण सुरु गरेका छन् ।

नेपाल सरकारको अनुरोधमा ६० अधिकारीहरुको लागि तयार पारिएकोे यो ‘विशेष कोर्ष’ आज (१६ मंसिर) बाट शुरु भएको हो ।

नेपाल सरकारका विभिन्न निकायहरूको क्षमता अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (ITEC) कार्यक्रमअन्तर्गत रहेको सम्बद्ध पक्षको भनाई छ ।

उक्त प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरूको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलाहरूलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्ने बताइन्छ । यसअघि नेपाली अधिकारीहरूका दुई ब्याचले भारतमा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुिद्धकरण क्षेत्रमा NACIN भारत सरकारको अत्याधुनिक शिक्षण सुविधासहितको प्रमुख प्रशिक्षण संस्थान हो । योे एशिया/प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो र अन्य अन्तर्राष्ट्रिय संस्थाहरू UNEP, UNODC, SASEC आदिसँग मिलेर काम गर्दछ ।