भारी वर्षाले घर भत्किँदा भारतमा सत्रको मृत्यु

भारी वर्षाले घर भत्किँदा भारतमा सत्रको मृत्यु


भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचना भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्ति सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ । मुसलधारे वर्षापछि सो घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको बताइएको छ ।

भारतमा घरलगायतका संरचना भत्किनु एक सामान्य घटनाको रूपमा रहेको पाइन्छ । कमजोर संरचनाका कारण यस्तो घटना हुने गरेको विज्ञहरूको भनाइ छ । गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको थियो ।
रासस–एएफपी