साग उद्घाटन समारोह : राज्यको ढुकुटीको सत्यानास मात्रै ?

साग उद्घाटन समारोह : राज्यको ढुकुटीको सत्यानास मात्रै ?


‘म १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन भएको घोषणा गर्दछु !’ दशरथ रङ्गशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको यो उद्घोषसँगै १३औँ ‘साग’को औपचारिक शुभारम्भ भएको छ । मंसिर १५ देखि आरम्भ भएको १३औँ साग २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुनेछ ।

राष्ट्रिय गीत गायनसँगै शुरु भएको उद्घाटन समारोहमा नेपालको संस्कृति झल्किने विभिन्न लोक धुन, झाँकीसँगै खेलाडीहरूको मार्च पास प्रस्तुत गरिएका थिए । त्यस्तै, नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीले सातै राष्ट्रको प्रतिनिधित्व हुने प्रदर्शन गरेका थिए ।

उद्घाटन भब्य भयो भनी सरकारी सञ्चारमाध्यमहरूले प्रसार गरे पनि समारोहले आशानुकुल भब्यता प्राप्त गर्न सकेन । जस्तो हुनुपर्ने थियो त्यस्तो वास्तवमा कुनै कोणबाट हुन सकेन । अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्घाटन छोटो, मीठो, सरल, रोमाञ्चक र सनसनीपूर्ण हुनुपर्नेमा विनाप्रयोजन चुइँगम तन्काएजसरी जबर्जस्ती लम्बाउने कार्य गरिँदा उद्घाटन समारोहको चार्म नै खस्किन पुगेको थियो । तीन घण्टासम्म चलेको उद्घाटन समारोह निकै पट्यारोलाग्दो थियो भने नौलो मान्नुपर्ने प्रस्तुति खासै थिएन ।

समारोह–प्रमुख कुलबहादुर थापाको उही पुरानो सोच १३औँ सागमा पनि हाबी भएको पाइयो । पाँचौँदेखि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितासम्म एउटै परम्परागत शैलीमा उद्घाटन समारोह प्रस्तुत गर्दै आएका थापाले १३औँ सागमा पनि यही कुरालाई दोहऱ्याएका थिए, जसलाई उपस्थित दर्शकले ‘खाए खा नखाए घिच’को शैलीमा ग्रहण गरेका थिए । थापाको पुरातनशैलीको यो सोच १३औँ सागको उद्घाटन समारोहमा पूर्ण रूपमा असफल भएको छ ।

यथार्थको जगमा उभिएर भन्नुपर्दा उद्घाटन समारोहको लागि ७५ करोडको बजेट माग्ने थापाको कार्यकुशलता उनले सागमा यसपटक प्रस्तुत गरेको प्रदर्शनले प्रस्ट पारेको छ । उनले कार्यक्रमलाई मनोरञ्जनात्मक र दर्शनीय बनाउनुभन्दा पनि जटिलतातर्फ धकेल्दै कसरी राज्यको ढुकुटी सिध्याउने र आफ्नो दुनो सोझ्याउने भन्नेतर्फ केन्द्रित गरेका प्रतीत हुन्थ्यो । होइन भने अनावश्यक आइटमहरूलाई उनले पक्कै प्राथमिकतामा पार्नु नपर्ने थियो । ती अनावश्यक प्रस्तुति नै उद्घाटन समारोहको बोरिङ पक्ष बन्न पुग्यो ।

पहिले उद्घाटन समारोहका सम्पूर्ण कार्यक्रम सकिएपछि आतिसबाजी हुन्थ्यो तर यो पटक बीच–बीचमा आतिसबाजीको कार्यक्रम राखिएको थियो । यो नै उद्घाटन समारोहको नौलो कुरा थियो । राष्ट्रपति भण्डारीले उद्घाटनको घोषणा गर्दा, सागको झण्डोत्तोलन र दीपक विष्टले दीप प्रज्ज्वलित गर्दा आतिसवाजी गरिएको थियो । त्यो वाहेकको नौलो प्रस्तुती केही अनुभूति गरिएन ।

उद्घाटन समारोहको सबैभन्दा उत्कृष्ट पक्ष भनेको रेजर लाइट र सशस्त्र प्रहरी बलले प्रस्तुत गरेको सार्क मुलुक चित्रित गर्ने गीत तथा झण्डाको प्रस्तुतीलाई मान्न सकिन्छ । अन्य सबै प्रस्तुती निकै साधारण र फितला थिए । यही फितलो व्यवस्थापन प्रदर्शनले गर्दा सशस्त्र प्रहरी बलको प्रस्तुतिसँगै दशरथ रङ्गशाला खाली भएको थियो । दशरथ रङ्शालामा उपस्थित दर्शकहरू उद्घाटन समारोहको आलोचना गर्दै बाहिरिएका पनि देखिए । ती दर्शकहरू भन्दै थिए– ‘यस्तो पनि उद्घाटन समारोह हुन्छ ? यो सबै राज्यको ढुकुटी रित्याउने कार्य मात्रै हो, यसले राम्रो सन्देश दिँदैन ।’

दर्शकहरू राष्ट्रपतिभन्दा अगाडि निस्किन थालेपछि सुरक्षाकर्मीहरु समेत चकित र चिन्तित बनेका थिए । सुरक्षाकर्मी भन्दै थिए– ‘कार्यक्रम चलिरहेको छ, राष्ट्रपतिभित्रै हुनुहुन्छ, दर्शकहरू त सबै निस्किसके, के भएको हो यो ?’ त्यसपछि रङ्गशालाबाट बाहिर निस्किएका एक दर्शकले मुख फोरिहाले– ‘केही भएको छैन, उद्घाटन समारोह निकै उत्कृष्ट भएकोले हामी बाहिर निस्किएका हौँ । दर्शकहरूको यस्तो ब्यङ्ग्योक्तिबाट पनि सोझै अनुमान लगाउन सकिन्छ कि उद्घाटन समारोह कति उत्कृष्ट भयो होला भनेर ।

ज्ञातव्य छ, मुलुककै इज्जत–प्रतिष्ठा र गौरव गाँसिएको भनिएको यत्रो खेलकुद समारोहको उद्घाटन समारोहमा सत्तापक्षबाहेक विपक्षी दलहरूको प्रतिनिधित्व हुने गरी एक जनालाई पनि आमन्त्रित गरिएको थिएन । यसरी एकपक्षीय रूपमा आफूआफै मात्र भेला भएर आयोजक पक्षले कस्तो सन्देश दिन खोजेका हुन् ? सवाल खडा भएको छ ।