बाग्लुङमा बाम गठबन्धनका शाही विजयी

बाग्लुङमा बाम गठबन्धनका शाही विजयी


बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गरेका हुन् ।

शाहीले ११ हजार २३५ मत ल्याएका छन् भने शेरचनले नौ हजार १३८ मत हासिल गरेका छन् । बागलुङ क्षेत्र नं २ (ख)बाट दुई जना स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा थिए ।

विसं २०७४ मा भएको आमनिर्वाचनमा तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य हुनुभएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खाली भएको बागलुङ क्षेत्र नं २ (ख) ले सोही पार्टीबाट प्रदेशसभा सदस्य पाएको छ ।

३५ हजार १८४ मतदाता रहेको सो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो । सोमध्ये ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङकै बडिगाड गाउँपालिका–२मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन विजयी भएका छन् ।

उता पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी भएका छन् । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गरेका हुन् ।

गए राति सम्पन्न मत परिणामानुसार कुरुम्बाङले पाँच हजार ३६९ मत प्राप्त गर्नुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गरेका छन् । त्यस्तै, समाजवादी पार्टीकी विमला आङ्देम्बेले ३२०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतीप्रसाद आङ्देम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले १२ मत प्राप्त गरेका छन् । निर्वाचनमा १७९ मत बदर भएको निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिएका राससले जनाएको छ ।

गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यस पालिकामा उपनिर्वाचन भएको हो ।