राजनीतिक दल र निर्वाचन कार्यालयबीचको विवादले खार्पुनाथमा मतगणना हुन सकेन

राजनीतिक दल र निर्वाचन कार्यालयबीचको विवादले खार्पुनाथमा मतगणना हुन सकेन


हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म मतगणना हुन सकेको छैन । उपाध्यक्ष पदका लागि शनिबार सम्पन्न भएको मतदान कार्यको आइतबार बिहान ८ बजेदेखि मतगणना शुरु हुने भनिए पनि विवादका कारण मतगणना हुन नसकेको हो ।

तीनवटै राजनीतिक दलले वडागत रूपमा मतगणना गर्नुपर्ने माग राखेका छन् भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले वडागत रूपमा गणना गर्न नसकिने बताएपछि विवाद भएको हो । बिहान ८ बजे बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । अहिले पुनः सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहेको बताइएको छ । पालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कडा प्रतिस्पर्धा देखिएको छ । खार्पुनाथमा ८५ प्रतिशत मत खसेको छ ।

यसैबीच, खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा नेकपा र कांग्र्रेस कार्यकर्ताबीच ढुंगामुढा भएको छ । शनिबार उपनिर्वाचनमा मतदान गरिसकेका स्थानीयवासीले आइतबार बिहान नेकपाका नेता तिजबहादुर शाहीको घरमा ढुंगामुढा गरेपछि विवाद भएको नेकपाका गाउँ कमिटी अध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।

अहिले दुवै पक्षबीच भएको विवाद सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
rss