सीमा दुखेको बेला

सीमा दुखेको बेला


■ विनोद नेपाल

भो नभुलाऊ घरव्यवहारका कुरामा,
भो नअलमल्याऊ, नूनतेलका कुरामा
मलाई यतिखेर देश दुखेको छ,
छिमेकीको बारम्बारको ज्यादतीले,
छाती भतभती पोलेको छ ।

कुराले निकै नजिक हुन्छ,
तर, व्यवहार नसोचेको गर्छ,
आत्मीयता देखाउँछ गजबको,
तर भित्रभित्र षड्यन्त्र गर्छ,
बुझिनसक्नुको छ छिमेकी
फर्कीफर्की अप्ठ्यारो पार्छ ।

तर के दोष दिनु उसलाई मात्रै पनि ?
हामी पनि त उस्तै छौँ,
आफ्ना स्वार्थमा उपयोग गर्छौँ उसलाई,
कहिले उतै आश्रय जमाएर मुलुकका विरुद्ध लड्छौँ
जब यता केही हुन थाल्छ
उपचारको बहानामा आड खोज्न उतै लाग्छौँ,
यता मन फाट्दा, सिलाउन, उतैको तीर्थ ताक्छौँ,
उसैका सामु अनेकथरी देउता भाक्छौँ ।

यसैले त, शायद उसले
हामीलाई निक्कै राम्ररी तौलेको छ,
हाम्रो हैसियत राम्ररी बुझेको छ
सम्भवतः यसैले
कहिले सीमास्तम्भ सार्छ,
कहिले बचेखुचेको सुस्तामा हालिमुहाली जमाउन खोज्छ,
कहिले सिङ्गै कालापानी–लिपुलेकमा रमाउन खोज्छ,
अनि, एक पछि अर्को गर्दै,
ठाउँ फेरी–फरी रडाको मच्चाउन खोज्छ ।

भो नअलमल्याऊ मलाई,
सीमा दुखेको छ यतिखेर
छिमेकीको आँखा परेको छ पवित्र माटोमाथि,
उसका विरुद्धको जुलुसमा जानु छ,
सिपाही बनेर छिमेकीविरुद्ध सीमामा उभिनु छ ।

पोखराथोक, पाल्पा