मेरो गर्धन चिलायो कि… ?!


■ स्वयम्भुनाथ कार्की

म मेरो राष्ट्रलाई माया गर्छु, यसको अर्थ म मात्र मेरो राष्ट्रलाई माया गर्छु भन्ने पनि होइन । अर्काको जिम्मा लिने कुरा पनि भएन । त्यसैले म मेरो राष्ट्रलाई माया गर्छु, म राष्ट्रवादी हुँ भन्नेबित्तिकै एक हुल अग्रगामीहरू अनेकौँ कुतर्क लिएर भन्नलाई वैचारिक, तर झन्डै भौतिक आक्रमण गर्न आउँछन् । जीवनभर स्वाभिमानी एक्लो नेपाली हुन नसकेका ती अभागी नेपाली आफ्नो कल्पनामा मेरो पनि दल देख्छन्, नेता कल्पना गर्छन् । अनि उनीहरूको कल्पनाको मेरो नेताबारे प्रश्न गरेर मेरो मेख मारेको सम्झन्छन । यस्तो अवस्थामा म उनीहरूको अभागमा मनमनै सहानुभूति मात्र दिन सक्छु । किनभने यस्ताहरूको हरेक क्रियाकलाप उनीहरूको दल तथा नेताहरूको आदेशमा निर्भर गर्दछ । उनीहरूसँग आफ्नो भन्ने नै केही हुन्न । त्यसैले अरूलाई पनि त्यस्तै सोच्छन् ।

अर्काथरी त्यसको विलोम छन् । राष्ट्रवादी भन्नेबित्तिकै राष्ट्रवाद भनेको राजा वीरेन्द्र हुन् । राजपरिवार हुन् । उनीहरूको नाम आउनेबित्तिकै, फोटो देख्नेबित्तिकै जयजयकार गर्नुपर्दछ भन्ने मान्यता राख्छन् । अझ मैले आफूलाई राष्ट्रवादी भनेकाले उनीहरूले मलाई जे पनि आदेश दिन पाउने अधिकार पाएसरह गर्दछन् । राजालाई पूर्व किन लेखिस् किन भनिस् भनेर हायलकायल गर्न खोज्छन् । न उनीहरूलाई वर्तमानको वास्तविकता थाहा छ, न अब कुनै परिवर्तन नभएमा राजसंस्थाको वैधानिक हैसियत छैन भन्ने भान नै । राजालाई भेट्न खोज्छन्, भेट भइहाल्यो भने जयजयकार गर्छन् । सरकार फिर्ता भइबक्सनुपर्छ भनेर भन्छन् । अनि बाहिर आएर त्यस्तै फुइँ लगाउँछन् ।

यस्ता जयजयकार चाटुकारहरूले कथं राजासँग भेट पाएनन् भने सचिवहरूलाई तथानाम गाली गर्छन् । नेपालमा राजसंस्था यिनै सचिवहरूले गर्दा गएको भन्न थाल्छन् । कोहीकोही त सचिवहरूलाई ‘र’ तथा ‘सीआईए’का एजेन्ट पनि भन्ने गर्दछन् । सचिवहरू राजाका सल्लाहकार होइनन्, कर्मचारी हुन् । उनीहरू राजाको आदेश पालना गर्दछन् । हिजो सत्तामा हुँदा के थियो थाहा छैन, तर आज सर्वसाधारणजस्तो जीवनशैली अपनाएका राजासँग कुनै सूचना लुक्न सक्दैन यो लुकाउने हैसियत तथा हविगत सचिवहरूसँग छैन । त्यसैले यस्ता हल्ला उडाउनेहरू नै हिजो पनि राजाका घाती थिए, अहिले पनि छन् ।

म अहिले मेरो मुलुक राजाबेगर चल्न नसक्ने देख्छु त्यसैले राजावादी हुँ । म राजावादी होइन मुलुकको निमित्त राजावादी भएको हुँ ।

यस्ताहरू राजा र राजपरिवारको नाममा सामाजिक सञ्जालमा खाता खोल्छन्, ग्रुप बनाउँछन् । प्रोफाइलमा राजा, राजपरिवारको फोटो राख्छन् । पोस्ट भने नचाहिँदा भिडियो हुन्छन्, असम्बन्धित वाचपार्टीहरू हुन्छन् । तल्लास्तरीय लाइभ गरिराखेका हुन्छन् । राजा र राजसंस्थाका नामलाई सकेसम्म सस्तो बनाउने काम गरिराखेका हुन्छन् । तर, अर्कोलाई अर्ती दिनु, गाली गर्नु परम् कर्तव्य ठान्छन् । एक नागरिकले, जनताले हरेकको मूल्याङ्कन आफ्नो बुद्धि र बर्कतले भेटेसम्म गर्छ । यो नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो । त्यसै क्रममा मैले लेखँ, म राजा वीरेद्रको सम्मान त गर्छु तर योग्य राजा मान्दिनँ । त्यसैले मलाई यस्ता पोस्ट ट्याग नगर्नु होला ।

मैले यसो भनेर अरिँगालको गोलामा ढुङ्गा हानेछु । एक महानुभावले सोध्नुभयो विकल्प के त ? अब मैले राजा वीरेन्द्रलाई योग्य राजा नमान्दा कस्तो विकल्प दिनुपर्ने हो ? त्यो पनि जीवित, र गद्दीनसीन राजा भएको भए सरकार यो–यो कारणले सरकारको योग्यता देखिएन भन्न पनि सकिन्थ्यो, तर इतिहासको के विकल्प दिनु मैले ? केही लाग्नु भयो योग्य साबित गर्न । २८ देखि ५८ सालको राजा वीरेन्द्रको कार्यकालमा ८ कक्षमा पढ्ने केटोबाट प्रौढ भएको हुँ । त्यो खालखण्ड मेरो भोगाइ हो । मलाई यस्तायस्ता उदाहरण दिइए जो उनको शासनकालमा भएकै थिएन । राजाहरूलाई राम्रो देखाउन तथा नराम्रो देखाउन अनेक किंबदन्तीहरू गढिने गर्दछन् । ती किंबदन्तीको आधारमा मेरो मूल्याङ्कन बदलिँदैन ।

अब दुईवटा यस्ता घटनाको उल्लेख आवश्यक छ जो कुनै राजावाट त आशा गर्न सकिन्न, धूर्त नेताबाट पनि आशा गर्न सकिन्न । ०३६ सालको र ०४६ सालको राजभक्तमाथिको राजाको धोका । आफूले लिएको अडान, कदमको दृढताले प्रतिरक्षा गरिरहेका राजभक्तहरूलाई मैदानबाट फिर्ता हुने अवसर पनि नदिई ३६ मा जनमत घोषण गरियो । यसले कति राजभक्तहरूले के–के भोग्नुपरेको थियो त्यो भोग्नेलाई नै थाहा होला । त्यस्तै एक दृढ अडानमा चट्टानसरह नाकाबन्दीलगायतको सबै मोर्चामा डट्दै आएका मरिचमानसिंहको एकाएक राजनीतिक–सामाजिक बलि लिइयो । पछि हट्ने तयारीबेगर हट्नाले राजभक्तहरूले धेरै गुमाउनुपरेको थियो । अरूले त यसलाई योग्यता देख्ला म त कुनै हालतमा योग्यताको देख्दिनँ । किनभने म अहिले मेरो मुलुक राजाबेगर चल्न नसक्ने देख्छु त्यसैले राजावादी हुँ । म राजावादी होइन मुलुकको निमित्त राजावादी भएको हुँ ।

प्रतिक्रिया