पृथ्वीनारायणका नुनगुनका सेवक

इतिहास


एकपटक श्री ५ पृथ्वीनारायण शाहलाई ललितपुरका प्रमानहरूले राजा थाप्न आमन्त्रण गर्दा उनले आफू नगएर आफ्ना भाइ कान्छा चौतारा दलमर्दन शाहलाई प्रतिनिधि गराएर पठाएका थिए । कीर्तिपुरको दोस्रो लडाइँका समयमा ललितपुरका प्रमानहरूले श्री ५ पृथ्वीनारायण शाहलाई पदच्युत गरेर दलमर्दन शाहलाई नै ललितपुरको मुकुट पहिराएका थिए ।

दाज्यूको आज्ञा नपाई परचक्रीका बहकावटमा लागेर ललितपुरको मुकुट पहिरनु दलमर्दन शाहको अघ्र्यालो काम थियो, साथै केही समयको रमझमपछि फेरि लुत्रुक्क परेर दाज्यूका आश्रयमा जानुपर्ला भन्ने कुरा पनि दलमर्दन शाहले बुझ्न सकेका थिएनन् ।

कान्तिपुर दखल भएको लगत्तै पछि ललितपुर पनि गोर्खालीका दखलमा आएपछि एकपटक नाम मात्रको भए पनि राज्याधिकारको चस्का लागेका दलमर्दन शाहले ललितपुरका प्रमानहरूसँग साँठगाँठ मिलाई त्यहाँको अधिकार लिने प्रयत्नमा लाग्दा श्री ५ पृथ्वीनारायण शाह सावधान भई उनले त्यहाँका प्रमानहरूलाई पदच्युत गरेर बख्शी केहरसिंह बस्न्यातलाई हाकिम बनाएका थिए । केहरसिंह बस्न्यातलाई पश्चिमतिरको लडाइँमा खटाएपछि श्री ५ पृथ्वीनारायण शाहले काजी धनवन्त खवासलाई ललितपुरको हाकिम दिएका थिए र दलमर्दन शाहले प्रशासनको कामबाट सदाका निमित्त हात झिक्नुपरेको थियो ।

जेठा चौतारा महोद्दामकीर्ति शाहले पनि इ.सं. १७७१ मा सम्भवतः मकवानपुरको अधिकार लिने कुचेष्टा गरेको प्रमाण श्री ५ पृथ्वीनारायण शाहले भेट्टाएका थिए । तेस्रा भाइ दलजित शाहले अनुचित कार्य केही गरेको देखिन्न । कान्छा भाइ काजी शूरप्रताप शाह पनि भक्तपुरको अधिकार नपाउँदा बिभिण्डिएर गोर्खालीका शत्रु बनेका चौबीसी ठकुराइमा चक्कर लगाउन पुगेका थिए र आफ्ना जीवनकालको अन्तिम समयमा शूरप्रताप शाह मारिएको शोकजनक समाचार श्री ५ पृथ्वीनारायण शाहले सुन्नुपरेको थियो ।

यसप्रकार भाइहरूले बखतबखतमा श्री ५ पृथ्वीनारायण शाहलाई अप्ठ्यारामा पारेका थिए तापनि आफ्ना विवेक–बुद्धि र व्यक्तित्वका प्रभावले उनले व्यवस्थालाई बिग्रन दिएका थिएनन् र भाइहरूका मान–मर्यादालाई पनि कायम राखिदिएका थिए । यसो हुँदा बीचबीचमा उठेको गृहकलहको उपयोग शत्रु भएका राजाहरूले गर्न पाएका थिएनन् र यसको प्रभाव पनि उनले शुरु गरेका अभियानकार्यमा पर्न दिएका थिएनन् ।

चौबीसी ठकुराईहरूमा राजाका मन्त्री ‘काजी’ कहिन्थे । मर्यादाक्रममा यिनीहरू चौतारा वा राजाका काजी भएका भाइभन्दा तल्ला तहमा रहन्थे । तर, प्रशासनमा मन्त्रीको अधिकार ज्यादा हुन्थ्यो । श्री ५ पृथ्वीनारायण शाहका पहिला काजी कालु पाँडे बडा योग्य पुरुष थिए । दोस्रा काजी रणरुद्र शाह श्री ५ पृथ्वीनारायण शाहका ल्याइते आमापट्टिका छोरा थिए तापनि महोद्दामकीर्ति शाह आदि अरू भाइभन्दा बहुत योग्य थिए । श्री ५ पृथ्वीनारायण शाहले मर्यादाक्रममा यिनलाई कालु पाँडेभन्दा माथि राखेका थिए । आफ्नो जीवनभर गोर्खाका रक्षा यिनैले गरेका थिए । सम्भवतः श्री ५ पृथ्वीनारायण शाहको जीवनकालको अन्त्यमा नै यिनको पनि देहान्त भयो र उनले दुःखको अनुभव गर्नुपरेको थियो ।

कालु पाँडेलाई मन्त्रीका पदमा नियुक्ति गरेको केही सालपछि तुलाराम पाँडेलाई पनि श्री ५ पृथ्वीनारायण शाहले काजी गराएका थिए । यी पनि योग्य पुरुष भए । कालु पाँडेको देहान्तपछि श्री ५ पृथ्वीनारायण शाहले मन्त्रीको पद पाँच वर्ष खाली राखी पछिबाट उनका छोरा काजी वंशराज पाँडेलाई मन्त्री गराएका थिए । यिनी कालु पाँडेभन्दा पनि योग्य देखिए । तर, सतहूँको हारपछि यिनी शत्रुका कैदमा रहेका हुनाले साढे तीन वर्षसम्म यिनीसँग विछोड भई श्री ५ पृथ्वीनारायण शाहको देहान्त भएको थियो । श्री ५ पृथ्वीनारायण शाहले कालु पाँडे, वंशराज पाँडे, तुलाराम पाँडे, शिवरामसिंह बस्न्यात, केहरसिंह बस्न्यात, श्रीहर्ष पन्थ, रणरुद्र शाह (भैयाद) र कालिदास खड्का (मगर) लाई जिन्दगीभर भुलेनन् । यसकारण उनले दिव्य उपदेशमा पांडे बस्न्यात पंथ भैयाद मग्रलाई मराताप दिंदा आलो पालो गरि षान दिनु । ई मेरा नुन् गुन्का स्वझा सेवक हुन्, भनेका छन् ।

(श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, बाबुराम आचार्य)

प्रतिक्रिया