कैदीहरूको पनि नरक हो दरबारिया जीवन !

कैदीहरूको पनि नरक हो दरबारिया जीवन !


■ डिल्ली अम्माई

जब नसामा स्वतन्त्रताको तरङ्ग रगतसँगै बग्न थाल्छ त्यसपछि राजा र रङ्कको भेद विलुप्त हुँदै जान्छ र त्यो सन्न्यासीझैँ समानता खोज्दै प्रकृतिको काखमा आइपुग्छ । दरबारबाट प्रकृतितर्फ हुत्तिँदा पूर्वयुवराज पारस शाहलाई कसैले ‘मति बिग्रेको’ भने, कसैले ‘त्यति ठूलो मान–सम्मानको खिल्ली उडाउँदै साधारण तहमा आइपुगे’ भने । कतिले त ‘धतुल्लाए’समेत भन्न पछि परेनन् । उनलाई दरबार हत्याकाण्डमा मुछ्न पनि खोजियो । उनलाई विवादको भुमरीमा पारेर चुट्नु चुटियो । उनको रगतमा बगेको स्वतन्त्रताको मूल्य जहानियाँ राजतन्त्रको खोक्रो औपचारिकताबाट प्राप्त नहुँदा देखिएको विक्षिप्तता कसले देख्नु ! त्यो विद्रोहभित्रको मूल्य यो युगले पहिचान गर्ने गतिमा थिएन र अझै केही काल गर्दैन पनि ।

अझै लामो समयसम्म उनलाई बेलुनझैँ उडाइएला, उचालिएला, पछरिएला । तर, उनको त्यो विद्रोहभित्रको मूल्य यी मुल्याहाहरूको बैगुनी युग सकिएपछि खोज्न थालिनेछ । प्रेमको लागि मृत्युदण्ड पाएका सन्त क्लेडियसको विद्रोही स्वर फ्लेमेनियाको चिहानबाट ब्युँझन झन्डै १८ सय वर्ष लाग्यो भने पारसको विद्रोह वा विक्षिप्तताबारे आगामी युगले केही न केही मूल्य भेट्टाउनेछ । स्वतन्त्रताप्रेमीहरूले ‘दरबारिया जीवन कैदीहरूको पनि नरक हो’ भन्ने कुरा स्वीकार गर्दै त्यस्तो जीवनको परित्याग गर्नु पनि साहसिलो विद्रोह हो । योभन्दा धेरै त अझै पनि हाँस्नेछन् ।

जोर्डनी राजाकी सौतेली बहिनी तथा दुबईका सम्राटकी पत्नी हया जसको विद्रोहले संसारका मानिस तरंगित बने । हयाले मृत्यु वा विद्रोह भनेर दरबारिया पर्खाल नाघ्ने साहस गरिन् । त्यो सकसपूर्ण विद्रोहको मूल्य उनी आफैँलाई बाहेक कसलाई थाहा होला । उनका दुई छोरीको स्वतन्त्रता रक्षाका लागि उनले दरबारको सम्पूर्ण औपचारिक सम्मान त्यागिन् । अरब ‘राजदरबारको औपचारिक जेल संसार’बाट मानवीय स्वतन्त्रताको लागि विद्रोह गरेकी शेख मोहम्मदकी छोरी सेखा लातिफाले जुन राजकीय औपचारिकतालाई ‘नरक’ भनेर सम्बोधन गरिन् त्यहीँ नरकबाट विद्रोह गर्दा पूर्वयुवराज पारसलाई बात लाग्यो । तसलिमाले मुस्लिम महिला पिसिएको धार्मिक जाँतोको हातो भाँच्दा उनीमाथि फताहा जारी गरियो । सभ्य समाजका राजकुमारी डायनाहरू पर्खालभित्रको औपचारिकता तोड्दै गर्दा सुरुङभित्र प्राण त्यागे । पारसहरूले चाहेको स्वतन्त्रताको मूल्यबारे कतै चर्चा भएन, तर निराशाका क्षणहरूमा नसाका साथ जीवन सक्याएको भनेर सकुनीहरूले खैजारी पिटे । मान्छेको जीवनमा स्वतन्त्रता र समभावभन्दा कुनै बहुमूल्य सम्पदा केही छ ? यदि छैन भने नारकीय औपचारिकताबाट सकी–नसकी एक्लै गरेको विद्रोह वा अलगाबलाई थोरै सम्मान गर्दा के फरक पर्छ ?

प्राकृतिक स्वतन्त्रलाई अति कैद गर्दै लगियो भने त्यसको परिणाम सकारात्मक हुँदैन । पूर्वयुवराज पारसको उन्मुक्त घुमफिर शैली, मानवीय समवेदनाको धार, साधारणपन र आचरण नितान्त प्राकृतिक हुँदो हो यदि त्यसलाई पूर्वराजाको परिवारले अप्राकृतिक दबाबबाट राजा वा दरबारिया बन्ने दबाब नदिएको भए । मान्छे राजाको कोखमा जन्मे पनि जनसाधारण हुन पाउनुपर्छ । दरबारबाट एक्लै घुमफिर गर्न पाउनुपर्छ, जनसाधारणसँग उठबस गर्न पाउनुपर्छ र चाहना छ भने युवराज जोगी बन्नसमेत पाउनुपर्छ । त्यो उसको स्वतन्त्रताको कुरा हो । तर, दरबारियाहरूको जीवन जनसाधारणभन्दा भिन्न, भद्दा, नितान्त कृत्रिम बनाइएको हुन्छ । उनीहरूको स्वतन्त्रता पिँजडाभित्र मात्र हुन्छ । त्यसैले दरबारियाहरू प्रायः मनोरोगी हुन्छन् । त्यो कुरा बाहिर भनिँदैन, तर सत्य कुरा के हो भने प्राकृतिक स्वतन्त्रता कुल्चिएपछि मानसिक कोषहरू शिथिल हुँदै जान्छन् र बाहिरी संसार अपरिचित बन्दै जान्छ । मानव वा त्यो परिवेशको मान्छे घरपालुवा बन्दै जान्छ । अन्ततः ऊ मनोरोगी हुन्छ र एउटा कडक अम्मलको सहाराले जीवन गुजार्न बाध्य हुन्छ वा पारिन्छ ।

स्वतन्त्रतामाथिको आक्रमण भएपछि मान्छेको आत्मबल खिइँदै जान्छ र नशाको सहाराले दबाबपूर्ण जीवन जिउन थाल्छ । व्यक्तिगत स्वतन्त्रताको अभावमा मान्छे बरालिन्छ र आफैँभित्र हराउन थाल्छ । त्यो क्रमशः मनोरोगको सिकार हुन्छ । सधैँ जनसाधारणको संशयमा बाँच्न चाहन्छ मान्छे, प्रकृतिप्रेमी र मानवीय मूल्यको महत्व थोरै भए पनि चिनेको हुन्छ मानवीय चेतनाले ।

पारस, जसले आफ्नो स्वतन्त्रतालाई दरबारिया सान सौकतसँग साट्न कदापि तयार भएनन् । दरबारभित्र उनलाई ठीक पार्न अनेक प्रयत्न भयो होला, तर उनको मनले मानेन । उनको मन अनावश्यक दबाबले थिलोथिलो भयो होला, तर बुद्धले जसरी दरबार त्याग्ने परिवेश पनि बनेन । विक्षिप्त अवस्थामा सडकमा निस्के, जता मन लाग्यो उतै हिँडे । उनी भड्किए । भित्रभन्दा मनले बाहिर आनन्द मान्यो । त्यसैमा आह्वादित बने । रणबहादुर र पृथ्वी वीरविक्रमझैँ उद्दण्ड हुने परिवेश बनेन । उनको विद्रोहको भड्काव पूर्ण नहुँदै राजतन्त्र गयो ।

चेतनासँगै जागृत भएको विद्रोहले समाजमा जागरण पैदा गर्छ, तर चेतना मरिसकेपछि वा चेतनाले बाटो नभेट्दै गरेको विद्रोहले आशाको विमोचन मात्र गर्छ । उनको विद्रोह दोस्रो खालको देखिन्छ । पूर्वयुवराज पारसको अहिलेको अवस्था दरबारिया रवैयाप्रतिको मानसिक विद्रोह हो, जसले उनलाई मात्र गिज्यायो । दरबारियाबाहेक कसैलाई असर गरेन । स्वतन्त्रताको मूल्य बुझ्नेले उनको सम्मान नै गरे, उनलाई राजाको रूपमा देख्न चाहनेहरूले उनैलाई गाली पनि गर्न थाले । जसलाई उनले मतलब नै गरेनन् ।

उनको विद्रोहले यदि दरबारिया सामन्तभित्रका सम्पूर्ण औपचारिकताविरुद्ध आवाजसहित विद्रोह गरेको भए पारससँग नेपालीको अझै आशा जोडिएको हुन्थ्यो । उनी अधिक सम्मानका पर्याय बन्थे । तर, उनको विद्रोह चेतनाको उत्कर्षलाई छाम्न सक्ने स्वतन्त्रतावादीबाहेक कसैले बुझ्न, सुन्न वा खोज्न सकेन । कसैले कारण खोज्ने जाँगर नै चलाएन । पारसको विद्रोहलाई नेपालीहरूले अरबियन राजकुमारी हया, महारानी सेखा लातिफाको विद्रोहजत्तिको महत्व पनि दिएनन् । ‘दरबारको भव्यताबाट भागेको, औपचारिकताबाट तर्सेको र उच्च आदर्श सम्झने दरबारिया शिक्षाबाट अलग्गिएर भुस्याहा जीवन जिउन रुचाएको’ भन्ने उनकै वरिपरिकाहरूले आरोप लगाए । हल्का तर्कले उनको गहन मानसिक प्रताडनाको खिल्ली उडाइयो । त्यसैले अझैसम्म उनि रुग्न कृत्रिमता चाहने आफ्नो परिवारको नजिक पर्न चाहन्नन् । उनलाई जनताले बाटेको लट्टेपिङ, साधारण मान्छेहरूसँगको हिमचिम, दरबारिया साङ्लोभन्दा महत्वपूर्ण छ । उनी प्रकृतिप्रेमीझैँ प्रकृतिको काखमा भौँतारिइरहन्छन् । राजसंस्थाप्रतिको उनको लगाव हिजो शक्तिमा हुँदा पनि थिएन, अहिले पनि छैन ।

उनको जीवनले मृत्युबाट पटक–पटक खै किन उनलाई बचाइरहेको छ । बाँचेको जीवनको एक पल पनि औपचारिकतामा बिताउन उनले अस्वीकार गर्दै आएका छन् । सत्ययोगी वा मानवताका उच्च अनुरागी भेटेको भए उनी बुद्धझैँ बैरागिँदै सत्यको खोजीमा हिँड्थे होला । तर, यो ढोगीहरूको हावा चलेको समयमा बुद्धजस्ता सन्न्यासी कहाँ भेटिनु ? तैपनि प्रकृतिको हावा बहने भिर, पाखा, खोला र नालाहरूमा पारस जोगीजस्तै टुप्लुक्क भेटिन्छन् ।

उनको विद्रोहमा कहीँकतै समाजलाई नकारात्मक प्रभाव पारिहाल्ने विरूप चित्र भेटिँदैन । त्यसैले व्यक्तिगत स्वतन्त्रताको लागि उनको जीवन जिउने शैली र सामाजिक मूल्यसहितको आगामी गन्तव्यलाई असम्मान गर्नुपर्ने कुनै कारण देखिन्न । चेतनाबाट निर्देशित विद्रोह नभए पनि व्यक्तिगत स्वतन्त्रताको लागि उनको विद्रोहको कहीँ न कहीँ अर्थ छ ।

औपचारिक यातना खप्न सकिँदैन भने चिच्याउन मजाले पाइन्छ । यातनाको समयमा जेलबाट भाग्नु निजी विचारमा विद्रोह हो । त्यो कैदीलाई भगौडाभन्दा अन्याय हुन्छ । कुलीन दरबारियाहरूको सातपत्रे पर्खाल ज्यादै असजिलो छ नाघ्न । विद्रोहकालमा उनको समतापूर्ण उन्नयन, जनसम्पर्कको पर्दाविहीन बाटो र एक मानवले अर्को मानवलाई शासित र शासक बनाउने विभेदविरुद्धको स्वतस्फुर्त अलगावलाई देख्नेहरूले सम्मान गर्न सक्नुपर्छ । उनको विद्रोहमा पनि त्यस्तै केही समानताका सारहरू छन् ।

हजारौँ दासीको रासलीला, दमित विद्रोहीको रगत र नागरिक पसिनाको पिरामिडमा आश्रित दरबारप्रतिको अनन्त घृणा, निरन्तर शासक बन्ने प्राकृतिक न्यायविरुद्धको चेतना र समभावको प्रारम्भिक बिन्दुमा यस्ता विद्रोहहरूको सम्झना हुने गरेको छ । संसारले यो बुझ्ने दिन पनि आउनेछ कि संसारको अन्तिम सार वा सत्य औपचारिकता मात्र हुँदै होइन, प्राकृतिक जीवनको अन्तिम सत्य कृत्रिम घेराबन्दीभित्रको विभेदकारी दरबारिया शिक्षा त झन् हुँदै होइन । अनौपचारिक मानवीय स्वतन्त्रता र आत्मिक समत्वपूर्ण स्वाभिमानको लागि गरिने शेखा लातिफा, हया, डायना र पारसका विद्रोह प्राकृतिक न्यायका दृष्टिले नितान्त जायज छन् । २१औँ शताब्दीले गिज्याइरहेको उचनिच वा राजा–रैतीबीचको घेरा नमेटिँदासम्म यस्ता विद्रोहहरूको दार्शनिक महत्व रहिरहनेछ ।