रावा बैंकमा नयाँ खाता खोल्नेलाई नेपाल टेलिकमको सिम निःशुल्क

रावा बैंकमा नयाँ खाता खोल्नेलाई नेपाल टेलिकमको सिम निःशुल्क


राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराइने भएको छ । यससम्बन्धी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज (१२ मंसिर) सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय बाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने बताए । दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्नुका साथै मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने उल्लेख उनले गरे ।

सोही कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २ करोडभन्दा बढी ग्राहक संख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय बाणिज्य बंैकबीच भएको यो सम्झौताले आम सेवाग्राहीहरु वित्तीय र प्रविधिगत रुपले निकै लाभान्वित हुने बताए । यो सहकार्यबाट दुवै संस्थाले व्यावसायमा समेत ठूलो फड्को मार्ने विश्वास पनि उनले व्यक्त गरे ।

ज्ञातव्य छ, राष्ट्रिय वाणिज्य बंैकले मुलुकभर भएका २ सय ३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निः शुल्क रुपमा उपलब्ध गराउने छ भने सो सिममा ५० रुपैयाँ टक भ्यालु समेत हुने जनाइएको छ ।