यौनकर्मी महिलामाथि केसम्म गर्छन् प्रहरी ?

यौनकर्मी महिलामाथि केसम्म गर्छन् प्रहरी ?


बलात्कारलगायतका जघन्य अपराधमा अपराधी पत्ता लगाउन तदारुकता नदेखाए पनि बाँच्नका निम्ति तथा परिवारको जिम्मेवारी वहनका लागि यौन पेसा गरिरहेका यौनकर्मी महिलामाथि भने प्रहरीले ‘बहादुरी’ देखाउँदै आएको छ । राजधानीका रत्नपार्क, कोटेश्वर, बालाजु, कलंकीलगायतका स्थानमा बस्दै आएका यौनकर्मी महिलामाथि प्रहरीले धरपकड मात्र गर्दै आएको छैन, बाटोमा जहाँ भेट्यो त्यहीँ पक्राउ गर्दै आएको छ । बाटोमा आफन्तसँग हिँडिरहेका बेला, रेस्टुरेन्टमा खाजा खाइरहेका बेला, हस्पिटल जान लागेका बेला जतिबेला पायो त्यतिबेला र जहाँ पायो त्यहीँ प्रहरीले अपशब्द बोल्ने, काम छ एकछिन आऊ भन्ने र पक्राउ गर्ने गर्न थालेपछि यौनकर्मी महिलाले आफूलाई थप तनाव भएको बताएका छन् ।

यौनकर्मीहरूबीचको एक छलफल कार्यक्रममा प्रहरी ज्यादतीबारे उनीहरूले सप्रमाण आलोचना गरे । ०७६ साल मंसिर ४ गते भएको उक्त कार्यक्रममा यौनकर्मीहरूले भोगेका समस्या तथा चुनौतीका विषयका विस्तृत छलफल गरेका थिए । समाज तथा राज्यवाट यौनकर्मी महिलालाई मानवको रूपमा नहेरेको र आफूहरूले गरेको कामका कारण अधिकार उपभोग गर्न नपाएको उनीहरूको भनाइ थियो । सहभागीहरूमध्ये सबैजसोलाई प्रहरीबाट अमानवीय व्यवहार भएको उनीहरूले तिथिमितिसहित विवरण सुनाएका थिए । उक्त कार्यक्रममा उनीहरूले आफ्ना लागि राज्यले कि काम दिनुपऱ्यो कि त यो पेसामा सहज वातावरण दिनुपऱ्यो भन्ने माग गरेका छन् । भेलामा यौनकर्मी महिलाले आफूहरूलाई सबैतिरबाट हिंसा हुने त छँदै छ त्यसमाथि पनि प्रहरीले धेरै दुःख दिने गरेको बताए ।

रत्नपार्क क्षेत्रमा बस्ने महिलाले प्रहरीहरूले आफूहरूमाथि बाटोमा हिँड्दै गरेको बेला पनि पक्राउ गरेर हिरासतमा राख्ने गरेको बताए । त्यहाँ कार्यरत प्रहरीमध्ये एकजना प्रहरीले अश्लील शब्द प्रयोग गर्ने गरेको र महिलालाई प्रयोग पनि गर्ने गरेको बताए । उनीहरूले भने– हामीले आफूहरू सबै मिली पैसा उठाएर तपाईंलाई दिन्छौँ, हामीलाई दुःख नदिनुस् भन्दा उनले पैसाचाहिँ लिएनन्, तर बेलाबेलामा हामीलाई प्रयोग भने गर्दै आएका छन । अन्य प्रहरीले पनि दुःख दिने र प्रयोग पनि गर्ने उनीहरूले बताए । यौनकर्मी महिलालाई पक्राउ गरेर दश दिनसम्म हिरासतमा राख्ने र दश हजार धरौटीमा छोड्ने गरिएको छ । सडकमा बसेर यौन पेसा गर्न बाध्य ती महिलालाई उक्त दश हजार कमाउन निकै समय लाग्छ । आफू बाँच्न र सन्तानलाई बचाउन सडकमा बस्न बाध्य महिलाले कमाएको पैसा प्रहरीकै लागि झैँ भएको छ । व्यापक धरपकडका बाबजुद यौनकर्मी महिला प्रहरीसँग यौनसम्पर्क राख्न बाध्य छन् । आफूलाई धरपकड गर्न आएको प्रहरीले बेलाबेलामा ‘तँ त मोटी–मोटी राम्री भइछस्, आज मसँग हिँड न त’ भनेर दबाब दिने गरेको सहभागी एक यौनकर्मीले बताइन् । प्रहरीसँग यौनसम्पर्कका निम्ति गएन भने आफूलाई थुनिदिने निश्चित हुने भएकोले आफूहरू जाने गरेको उनीहरूले बताए ।

कार्यक्रममा सहभागी रत्नपार्कमा बस्ने एक महिलाले भनिन, ‘हामी बच्चाहरूलाई स्कुल पठाएर प्रायः ११ बजेतिर रत्नपार्क पुग्छौँ । हामी कतिबेला आउँछौँ भनेर प्रहरी ढुकेर बसेका हुन्छन् । कहिलेचाहिँ हामी बसिसकेपछि प्रहरी आउँछन् अनि धरपकड सुरु हुन्छ । प्रहरीले नीलडाम हुन्जेल लाठीले हान्ने त सामान्य कुरा भयो । केही समयअघि हाम्री एक साथीलाई प्रहरीले १० दिनसम्म हिरासतमा राख्दा उनको छोरा कोठामा एक्लै पऱ्यो । सानो बच्चा कोठामा एक्लै छ, छोडिदिनुस् भनेर हारगुहार गर्दा पनि छोडिएन । हिरासतबाट निकाल्नका लागि दश हजार घुस बुझाए पनि अरू दश हजार औपचारिक रूपमा बुझाएर बीस हजार खर्च गरेपछि उनी निस्किइन् ।’ नेपाल प्रहरी या सरकारी अधिकारीहरूले यो विषयमा सोधखोज गरे आफूहरूले जानकारी दिने उनीहरूले बताए । सहभागी एक महिलाले प्रहरीले लाठीले हानेको नीलडाम केही सञ्चारकर्मी तथा अधिकारकर्मीहरूलाई देखाइन् । कार्यक्रममा २३ वर्षदेखि ६० वर्षसम्मका महिलाको सहभागिता रहेको थियो ।

नेपालको कानूनअनुसार, यौनकर्म गैरकानूनी होइन र यसलाई कानूनी मान्यता पनि दिइएको छैन । यौनकर्मी महिलाले यौनकर्मलाई कानूनी मान्यता दिनुपर्छ भन्ने आफ्नो माग नरहेको, तर निरअपराधीकरणचाहिँ गर्नुपर्ने र प्रहरीको धरपकड र अत्याचारबाट मुक्ति चाहेको बताए । यदि रोजगारी हुने हो भने आफूहरूले उक्त पेसा छोड्ने पनि उनीहरूले बताए । ‘सबैले त होइन, तर आधाभन्दा बढीले छोड्छन् होला,’ यौनकर्मी महिलाको अधिकारको क्षेत्रमा कार्यरत शान्ति तिवारीले बताइन् । यसलाई अपराधको रूपमा नभई अधिकारको रूपमा हेरिनुपर्ने पनि उनले बताइन् । उनले भनिन्– आगामी जनगणनामा ‘यौनकर्मी’लाई ‘पेसा’मा राख्ने हो भने नसोचेको सङ्ख्या आउन सक्छ । साथै यौनपेसालाई निरअपराधीकरण गरेका खण्डमा यौनकर्मीहरू पनि मानवअधिकार उपभोग गर्न पाउने र यौनकर्मीहरूले गरेको पेसालाई पनि कामको रूपमा हेर्न शुरु हुन्छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको MAPPING AND SIZE ESTIMATION OF FSW, MSM/TG/MSW and PWID IN NEPAL 2016 अनुसार नेपालमा यौनकर्मीको सङ्ख्या ५४,२०७ रहेको छ ।

यौनकर्मी महिलामाथि भएको अन्यायलाई लिएर कुरा गर्दा प्रहरीले उनीहरूले विकृति फैलाएको भन्दै अपशब्द बोलेर अपमानित गर्ने गरेको जागृति महिला महासङ्घका संस्थापक विजया ढकालले बताइन् ।

प्राप्त जानकारीअनुसार यौनकर्मी भेलाको दोस्रो दिन मङ्सिर ५ गते बिहीबार एक यौनकर्मीलाई रत्नपार्कमा बाटो काटिरहेका बेला समातेर प्रहरी कार्यालय अनामनगर पुऱ्याइएको थियो । साथीहरूले छुटाउन जाँदा समातेर मुद्दा चलाउन भनिएकाले सोहीबमोजिम गरेको भनी प्रहरीले बताएका थिए । उनलाई म्याद थपका लागि अदालत लगेकोले भेट्न नमिल्ने भनी आफन्तलाई फर्काइएको थियो । नेपालको कानून यौनकर्मी महिलाबारे मौन छ ।