स्वास्थ्य मन्त्रालयमा कमरेडको गर्जन !

स्वास्थ्य मन्त्रालयमा कमरेडको गर्जन !


  • कुमार पौडेल

हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बहाली हुन आएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र राज्यमन्त्री नवराज रावतले बहालीकै दिन फरक आस्था–विश्वास राखेर काम गर्ने कुनै पनि कर्मचारीलाई नछाडिने धम्की दिएका छन् । नेपालको स्वास्थ्य निजामती क्षेत्रमा नेकपा एमालेसमर्थित कर्मचारीको बाहुल्य रहेको छ । बहालीको पहिलो दिन सामान्य शिष्टाचारको पालना गर्नुको साटो अधिनायकवादी चरित्र देखाउने काम भयो । स्वास्थ्य सेवामा बढी विकृति ल्याउने काम नेकपाबाट नै भएको छ । वर्तमान प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले नेपालमा भिटामिन ‘ए’ खुवाउने महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई जिफन्टअन्तर्गत ट्रेड युनियनमा राखेर पश्चिमा लगानी ल्याउने काम गरेका छन् । यसका लागि पब्लिक सर्भिस इन्टरनेसनल भन्ने संस्थाले ठूलो लगानी गरेको छ । महिला स्वास्थ्य स्वयम्सेविकामार्फत पश्चिमा एजेन्डा नेपालीको घरघरमा पुगेको छ ।

स्वास्थ्य सेवामा ट्रेड युनियन, पेसागत सङ्घसंस्थाहरू अनगिन्ती छन्, तिनलाई मन्त्रालयले निश्चित दायरामा ल्याउन सकेको छैन । औषधि कम्पनी, अस्पताल, नर्सिङहोमको मूल्यलाई मन्त्रालयले निर्धारण गर्न सकेको छैन । मेडिकल कलेज, नर्सिङ कलेज, फार्मेसी कलेजहरूको नियमन, गुणस्तर, मूल्य एकरूपता हुन सकेको छैन । सरकारी अस्पतालहरूको काम बिरामीलाई निजी स्वास्थ्य संस्थामा रेफर गरेर अत्यधिक कमिसन खानु मात्र रहेको छ । कतिपय अस्पताल चिकित्सकले भारत मात्र होइन बैंककसम्म रेफर गरेका बिरामीको कमिसन लिने गरेका छन् । बिरामी जाँचेर शुल्क लिनु स्वाभाबिकै हो, तर प्रयोगशाला जाँच सिटिस्क्यान एमआरआईबाट ठूलो कमिसन चिकित्सकहरूले लिने गरेका छन् । औषधि कम्पनीले चिकित्सकलाई पढाउने, विदेश घुमाउने, सेमिनार खर्च व्येहोर्ने र मूल्य जति गरिब नेपालीको टाउकोमा बोकाउने काम गरेका छन् ।

स्वास्थ्य मन्त्रालय विभागमा विदेशी दाताहरूको सहयोगमा सञ्चालन हुने जनस्वास्थ्यका कार्यक्रममा तामझाम निकै हुन्छ, तर गरिबले सेवा लिने दूरदराजका अस्पतालहरूमा कसैको पनि ध्यान गएको छैन । वर्तमान सरकारले गरिबले सेवा लिने अस्पतालहरूको सुदृढीकरणमा बढी ध्यान दिनु जरुरी छ । स्वास्थ्य सेवाको नाममा भएको व्यापारलाई नियन्त्रण–नियमन गर्न जरुरी छ । स्वास्थ्यमा भएको दुई वर्गलाई एक वर्ग बनाउन जरुरी छ । गरिब निमुखा नेपालीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध भए मात्र समाजवादको नारा सफलीभूत हुनेछ । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा व्यवहारमा उतार्ने हो भने शिक्षा, स्वास्थ्य, यातायातबाट नै काम प्रारम्भ गर्दा उचित हुनेछ । चेतना भया ।