कालापानीमा पुगेर राष्ट्रवाद लम्पसारवादमा परिणत भएको आरोप

कालापानीमा पुगेर राष्ट्रवाद लम्पसारवादमा परिणत भएको आरोप


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार एकपछि अर्को गर्दै खोस्दै गएको आरोप लगाएका छन् ।

शुक्रबार पोखरामा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको वार्षिक साधारणसभाको उदघाटन गर्दै देउवाले सरकारले संवैधानिक परिषदलाई पनि कठपुतली बनाउन खोजेको आरोप लगाए । सो अवसरमा उनले सहमति र प्रजातान्त्रिक मूल्यमान्यताविपरीत अध्यादेश ल्याउन खोजिएको भन्दै जबर्जस्ती गरे नेपाली कांग्रेस सडकमा जानसमेत पछि नपर्ने बताए ।

सो अवसरमा उनले सरकारले संवैधानिक आयोगमा आफ्ना मान्छे भर्ती गरेको आरोप लगाए । सरकारको यो रवैया आफ्नो पार्टीका लागि स्वीकार्य नहुने उनको भनाइ थियो । देउवाले भने, ‘अख्तियारलगायत संवैधानिक आयोगमा आफ्ना मान्छे भर्ना गरी सरकारले शाही आयोगजस्तो बनाउन लागेको छ । कम्युनिस्ट सरकारले जनताका सबै अधिकार खोस्न लागेको छ । हामी कुनै हालतमा छाड्ने छैनौँ ।’

भारतले हालै जारी गरेको राजनीतिक नक्साबारे सरकारले कुनै प्रतिवाद गर्न नसकेको देउवाको भनाइ थियो । देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद चुनाव जित्ने एउटा राम्रो नाटक मात्र भएको बताए । उनले प्रधानमन्त्री ओलीको राष्ट्रवाद अहिले कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको उनले आरोप लगाए ।