१३औँ ‘साग’को प्रचारप्रसार रङ्गशाला परिसरमै सीमित

१३औँ ‘साग’को प्रचारप्रसार रङ्गशाला परिसरमै सीमित


■ श्रीविक्रम भण्डारी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (‘साग’)को सञ्चालन आगामी १५ गतेदेखि नेपालमा हुँदैछ । तर आज (६ मंसिर)सम्म १३औँ ‘साग’को प्रचारप्रसार दशरथ रङ्गशाला परिसरमै सीमित छ । १३औँ ‘साग’को प्रचारप्रसार प्रतियोगिता आयोजना हुने शहरहरू काठमाडौं, पोखरा र जनकपुर कुनै ठाउँमा गरिएको छैन ।

यी शहरहरूमा अहिले १३औँ ‘साग’को कुनै चहलपहल नै देखिएको छैन । यथार्थमा भन्नुपर्दा यहाँ ‘साग’को कुनै रौनकता नै छैन । नेपालमा ‘साग’ हुँदैछ तर यी शहरका नागरिकहरू १३औँ ‘साग’को बारेमा अनभिज्ञ छन् । किन ‘साग’को प्रचारप्रसार अहिलेसम्म दशरथ रङ्गशालाबाट वाहिर निस्कन सकेको छैन, सम्बन्धित निकाय मौन छ ।

यतिबेला १३औँ ‘साग’को प्रचारप्रसारले राजधानी काठमाडौं र पोखरा दुहली जस्तै सिँगारिनु पर्ने हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि दशरथ रङ्गशालासम्म १३औँ ‘साग’को प्रचारप्रसारले झिलिमिली भइसक्नुपर्ने थियो । राजधानी काठमाडौं र पोखरा प्रमुख पर्यटक स्थल, व्यापारिक मल र बसपार्कहरूमा १३औँ ‘साग’को होडिङ बोर्ड लागिसक्नुपर्ने थियो । विडम्बना अहिलेसम्म त्यस्तो कुनै किसिमको कार्य भएको छैन ।

यो बारेमा १३औँ ‘साग’का प्रचारप्रसार समितिका संयोजक शिव कोइराला (ज्वाला)सँग सम्पर्क गर्दा उनले आफू यो बारेमा अनविज्ञ रहेको बताए । आफु प्रचारप्रसार समितिको संयोजक भए पनि आफ्नो कार्य क्षेत्रभित्र ‘प्रचारप्रसार’को कार्य नपरेको स्पष्ट पारे । ज्वालाको अनविज्ञताले प्रचारप्रसार समितिभित्र के भैरहेको सोझै अडकल काट्न सकिन्छ ।

प्रचारप्रसारको कार्य प्रचारप्रसार समितिलाई गरेको छैन भने कसले गरिरहेको त भन्दा संयोजक ज्वालाले भने– ‘यो सबै सदस्यसचिव सिलवालले गरिराख्नुभएको छ, हामीलाई यसको कुनै जानकारी छैन ।’ यस्तै, उनले आफ्नो संयोजकत्वमा ६३ वटा शीर्षकका ८ करोड ९३ लाखको बजेट भए पनि आफुले सोचेबमोजिम कार्य गर्न नपाएको खुलासा पनि गरे ।

‘यहाँ काम गर्ने भन्दा पनि जासुसी गर्ने र चाकरी बजाउनेहरुको झुन्ड हाबी रैछ, काम गर्न गाह्रो भैरहेको छ, सोच्दैछु के गरौँ भनेर..’ – ज्वालाले भने ।

यो कुरालाई केही साता पहिले गोदावरी रिसोर्टमा सम्पन्न दुईदिने सञ्चारकर्मीहरूको कार्यशाला गोष्ठीले पनि प्रस्ट पार्छ । किनकि, यो कार्यशाला गोष्ठीको आयोजना प्रचारप्रसार समितिले गरेको थिएन । उक्त उपलब्धिहीन गोष्ठीको आयोजना राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल ठाडो आदेशबाट भएको बुझिएको छ । दुई दिनसम्म चलेको उक्त गोष्ठीका लागि सदस्यसचिव सिलवालले नेपाल खेलकुद पत्रकार मञ्चलाई २७ लाखको बजेट दिएको चर्चा छ ।

सम्बन्धित निकाय राखेपले यतिबेलासम्म १३औँ ‘साग’को प्रभावकारी तरिकाले प्रचारप्रसार गर्न नसके पनि गत साता १३औँ ‘साग’को वेभसाइडको विमोचन भने गरेको थियो । अहिले उक्त वेभसाइड प्रचारप्रसार समितिका लागि ‘बाँदरको हातमा नरिवल’ जस्तै बनेको छ । विश्वभरि १३औँ ‘साग’को जानकारी दिने उक्त वेभसाइडमा देखिएका सम्वेदनशील प्रकृतिको गल्तीले राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको टाउको नराम्रोसँग दुःखाएको छ । उनलाई यतिबेला उक्त गल्ती सच्याउन फोनमाथि फोनको ओइरो लागेको छ ।

उक्त वेभसाइडमा प्रधानसेनापतिलाई ‘बलाधिकृत’, खेलकुद मन्त्रीलाई ‘गृहमन्त्री’, उपाध्यक्षलाई ‘प्रमुख’ र सदस्यसचिवलाई ‘व्यापारी’ भनेर उल्लेख गरिएको छ । वेभसाइडमा यस्तो गम्भिर त्रुटी भएपछि उपाध्यक्ष तिम्सिनाले प्रचारप्रसारका सचिव दुर्गाप्रसाद दुलाललाई आफ्नो कार्यकक्षमा बोलाएर तुरुन्त सच्याउन आदेश दिएका थिए ।