पर्यटकसँगै बर्दिया राष्ट्रिय निकुञ्जको राजस्वमा वृद्धि

पर्यटकसँगै बर्दिया राष्ट्रिय निकुञ्जको राजस्वमा वृद्धि


बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको संख्या बढेसँगै उनीहरूबाट प्राप्त हुने राजस्वमा पनि वृद्धि भएको छ । निकुञ्जको तथ्यांकअनुसार आव ०७०–७१ मा १३ हजार २०७, आव ०७१–७२ मा १३ हजार ५४८, आव ०७२–७३ मा १० हजार ६४१, आव ०७३–७४ मा १८ हजार नौ, आव ०७४–७५ मा २० हजार ८४, आव ०७५–७६ मा २४ हजार ५५८, ०७६–७७ मा ६छ हजार ७३५ गरी एक लाख छ हजार ७३५ विदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।

आव ०७५–७६ मा रु. तीन करोड ७६ लाख ६० हजार ३४५ राजस्व संकलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । यस आवमा ०७६–७७ मा रु. ७६ लाख ९६ हजार ६८ राजस्व संकलन भएको छ । चार वर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा ४४ हजार १६६ विदेशी पर्यटक आएका छन् ।

निकुञ्जमा चार वर्षको अवधिमा ४४ हजार १६६ विदेशी पर्यटकले पाटेबाघ, एकसिंगे गैँडा एसियाका ठूलो राजागज हात्ती हेर्न पर्यटक आएको निकुञ्ज संरक्षण प्रमुख बरालले बताए । निकुञ्ज आउने आन्तरिक पर्यटकको संख्या धेरै रहेको बरालको भनाइ छ ।

करबि ९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा छ । सन् १९६८ मा शाही सिकार आरक्षका रूपमा स्थापित निकुञ्जलाई सन् १९८२ मा शाही बर्दिया वन्यजन्तु आरक्ष नामांकन गरिएको थियो । सन् १९८४ मा बबई नदी आसपासको क्षेत्रलाई पनि यसमा समेटिएको थियो । सन् १९८८ मा बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा यो क्षेत्र घोषणा भएको हो ।

पाटेबाघ, गैँडा, घडियाल गोही, डल्फिन, जरायो, कृष्णसारजस्ता लोपोन्मुख वन्यजन्तु पनि यस निकुञ्जमा संरक्षित छन् । विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार हेर्न आउनेको यहाँ लर्को लाग्ने गर्दछ । बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी होटेल क्षेत्रमा लगानी गर्ने क्रम पनि दिनानुदिन बढिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर पुष्प श्रेष्ठले जानकारी दिए ।

प्रमुख पर्यटकीय गन्तव्यका रूपमा पर्यटक भित्र्याउन निकुञ्जमा अझै धेरै काम गर्न बाँकी रहेको जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारूको भनाइ छ । प्रदेश ५ लाई प्रमुख पर्यटकीय मार्ग बनाउन धेरै पर्यटक भित्र्याउन हवाईभाडा कम गर्न राज्य लाग्नुपर्ने प्रदेश ५ का प्रदेश सभा सदस्य तिलक शर्माको माग छ ।
rss