१३औँ साग : भारतीय खेलाडीको सुरक्षाप्रति संवेदनशीलता अपनाउनु जरुरी

१३औँ साग : भारतीय खेलाडीको सुरक्षाप्रति संवेदनशीलता अपनाउनु जरुरी


■ श्रीविक्रम भण्डारी

सीमा विवादका कारण यतिबेला मुलकमा भारतको विरोधमा प्रत्येक दिन जुलुस निस्किरहेका छन् । भारतले नेपालको भूमिलाई आफ्नो नयाँ नक्सामा गाभेपछि त्यसको विरुद्धमा चरणबद्ध रूपमा मुलुकका विभिन्न शहरमा विरोध जुलुसहरू प्रदर्शन भैरहेका छन् । सामाजिक सञ्जालदेखि कुटनीतिक निकायसम्म सीमा विवादले अहिले ब्यापक चर्चा पाएको छ ।

गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च जमिन पनि नछोड्ने कुरा सार्वजनिक रूपमा राखेपछि सीमा विवाद अझ उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीको उक्त बयानलाई भारतीय मिडिया तथा अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले विशेष प्राथमिकता राख्दै प्रचारप्रसार गरेपछि नेपालमा सीमा विवादविरुद्धको आन्दोलनमा थप उर्जा मिलेको छ ।

भारतविरुद्ध नेपाली जनता आक्रोशित भैरहेको अवस्थामा आउँदो मंसिर १५ देखि २४ गतेसम्म नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आयोजना हुँदैछ । १३औँ सागमा भारतका ६ सय २१ जना खेलाडीले सहभागिता जनाउँदै छन् । १३ सागमा कुनै पनि राष्ट्रको यो सबैभन्दा ठूलो टोली हो ।

यस्तो अवस्थामा भारतीय टोलीमाथि नेपाल सरकारले सुरक्षाको कस्तो व्यवस्था गरेको छ, त्यो निकै चासोको विषय बनेको छ । यसर्थमा कि सीमा विवादका कारण अहिले नेपाल र भारतको सम्बन्ध सामान्य छैन । खेलका दौरान कुनै पनि बेला अकल्पनीय र अप्रिय घटना पनि घट्न सक्छ । मौकाको फाइदा उठाउन विद्रोही पक्षले जस्तोसुकै घटना–दुर्घटनालाई अन्जाम दिन सक्छन् । यस्तो अवस्थामा भारतीय खेलाडीको सुरक्षाप्रति राज्य संवेदनशिल हुनु अति आवश्यक छ ।

साग प्रतियोगिताको उद्देश्य भनेकै खेलकुदका माध्यमबाट दक्षिण एसियाली राष्ट्रहरूमा आपसी भाइचारा र प्रेमको अभिवृद्धि गर्नु हो । यस्तो आपसी भाइचारा र पे्रमको अभिवृद्धि गर्ने साग खेलकुदमा यदि सहभागी कुनै राष्ट्रका खेलाडीप्रति दुर्व्यवहार भयो भने त्यसले साग खेलकुदको प्रतिष्ठामाथि नै आँच पुऱ्याउँछ । यति मात्रै होइन, सागले दिने सन्देशमा समेत यसको नकारात्मक असर पर्छ ।

सीमा विवादका कारण अहिले भारतीय खेलाडीमाथि जुनसुकै किसिमको पनि दुव्र्यव्यहार हुनसक्छ । खेलकुदको मैदान होस या बाहिर, यदि भारतीय खेलाडीमाथि कुनै दुव्र्यवहार भयो भने त्यसको प्रत्यक्ष प्रभाव आयोजक राष्ट्रमा पर्ने कुरामा दुइमत छैन । यदि भारतीय खेलाडीमाथि कुनै किसिमको दुर्व्यवहार भयो भने सम्पूर्ण खेलाडीले प्रतियोगिता बहिष्कार गर्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

यस्तो विषम परिस्थितिमा भारतीय खेलाडीको सुरक्षामा राज्यले विशेष सतर्कता अपनाउनु जरुरी छ । उनीहरूलाई कुन ग्रेडको सुविधा दिने हो त्यसको अहिले नै राज्यले निर्णय गरेर सोही किसिमको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सुरक्षाको खतरा देख्दादेख्दै पनि व्यवस्थापन पक्षले आलटाल गऱ्यो भने त्यसले दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन ।

खेलाडीहरू खेल्न मात्र आउँदैनन्, आफ्नो खेल सकिसकेपछि यताउता घुम्न पनि जान सक्छन् । घुम्ने गन्तव्य जहाँ पनि हुनसक्छ, काठमाडौंको पशुपतिनाथदेखि पोखराको फेवाताल र लुम्बिनीसम्म पनि । त्यस्तो अवस्थामा भारतीय खेलाडीहरुको सुरक्षा कसरी गर्ने त्यो अहिले गम्भीर विषय बनेको छ ।

यही कुरालाई मध्यनजर गर्दै १३औँ सागको लागि गठन गरिएको सुरक्षा समितिका संयोजक नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसँग सम्पर्क गर्दा ‘मिटिङमा व्यस्त’ भन्ने जवाफ मिलेकोले कुराकानी हुन सकेन । त्यसपछि समितिका सचिव फर्णेन्द्र पौडेलसँग सम्पर्क गर्दा उनले यतिबेला नेपाल पुलिस, नेपाल आर्मी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसंग गम्भीर छलफल भैरहेको र सम्पूर्ण विदेशी खेलाडी, प्रशिक्षक र पदाधिकारीको सुरक्षाको बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने खुलासा गरे ।

त्यस्तै, गृहमन्त्री रामबहादुर थापाले १३औँ साग राष्ट्रको प्रतिष्ठा जोडिएको खेल भएकोले प्रतियोगिताको क्रममा कुनै किसिमको पनि त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । साथै गृहमन्त्री बादलले साग शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी गर्न समेत निर्देशन दिएका छन् ।