विकट रुवीभ्यालीमा प्रहरी चौकी

विकट रुवीभ्यालीमा प्रहरी चौकी


धादिङ जिल्लाको उत्तरी विकट हिमाली क्षेत्र रुवीभ्याली गाउँपालिका ५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको गत असोज ७ गतेको निर्णयअनुसार उक्त चौकी निकासा भएको थियो ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक ‍राजकुमार बैदवार र रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङले बिहीबार (५ मंसिर) आयोजित कार्यक्रममा उक्त प्रहरी चौकीको संयुक्त रुपमा उद्‍घाटन गरे ।

भौगोलिक कठिनाइको कारण संवेदनशील मानिएको उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएबाट त्यहाँका नागरिकले सहज रुपमा प्रहरी सेवा प्राप्त गर्न सक्ने एस्पी बैदवारले बताए । सेवासँगसँगै शान्तिसुरक्षा र अपराध नियन्त्रण गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक मुकुन्द मरहट्ठा, रुवीभ्याली गाउँपालिकाका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय वासिन्दालगायतको उपस्थिति रहेको थियो ।